
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुकाे मूल्य बढाएको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
दलले नागरिकलाई राहत दिनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर सबै सामानको मूल्य बढाएकोप्रति अापत्ति जनाउँदै ९ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो । तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
यी हुन् मागहरु
१) दशैँको मुखमा आयर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिइयोस्।२) कालोबजारी र तस्करीलाई नियन्त्रण र कारबाही गरियोस्।
३) चाड पर्वको अवसरमा देशभर ७ सय ५३ पालिकाका विभिन्न स्थानमा सुपथ मूल्य पसलको व्यवस्था गरियोस्।
४) दशैँमा आ-आफ्नो गाउँघर जाने यात्रुहरुको लागि यातायातको साधनको थप व्यवस्था र व्यवस्थित गरियोस्।
५) यस्तो बेला हुनसक्ने विभिन्न घटनाहरुबाट सतर्क बनी जनताको जिउ धन र शान्ति सुरक्षाको व्यवस्था मिलाइयोस्।
६) चिनी,तेल र विभिन्न खाद्यान्न वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण र सुपथ मूल्यमा उपलब्ध गराइयोस्।
७) गरिब, असहाय,अशक्त र विपन्न परिवारलार्इ तत्काल राहतको घोषणा गरियोस्।
८) दशैँ तिहार छठ पर्वको अवसरमा विभिन्न युवा संघसस्थाहरुले आयोजना गर्ने खेलकुद र मनोरञ्जनका कार्यक्रममा सुरक्षा र सहयोग प्रदान गरियोस्।
९) निर्मला पन्तको हत्यारालार्इ छिटोभन्दा छिटो पक्राउ गरी कडाभन्दा कडा कारबाही गरी सम्पूर्ण नेपाली चेली दिदीबहिनीहरु सार्वजनिक स्थानमा शान्तिपूर्ण ढंगले खुला रूपमा हिँड्ने खाल्को वातावरण र सुरक्षाको व्यवस्था मिलाइयोस्।