
काठमाडौंः फिल्म ‘देश खोज्दै जाँदा’ अमेरिका र युरोपका दुई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको छन्। ‘रिफ्युजी वेलकम फिल्म फेस्टिभल' र 'फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल'को अफिसियल छनौटमा परेको हो।
यसअघि फिल्मले दर्जनौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी जनाइसकेको छ। फिल्मले ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा बेस्ट नेशन फिचर फिल्मको अवार्ड जितिसकेको छ। त्यस्तै फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा बेस्ट जुरी अवार्ड जितिसकेको छ। 'फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल' भने नोभेम्बर ८ देखि १८ गतेसम्म हुनेछ। यो महोत्सवमा ’देश खोज्दै जाँदा’ले क्लोजिङ स्क्रिनिङको अवसर पाएको छ।
बर्लिनमा भने अक्टोवर २५ देखि ३१ सम्म ‘रिफ्युजी वेलकम फिल्म फेस्टिभल’ हुनेछ। फिल्म २८ अक्टुवरका दिन बेलुका ६ बजे स्क्रिनिङ हुनेछ। यसका लागि फिल्मका निर्देशक प्रकाश आङदेम्बे, कार्यकारी निर्माता मनरथ पोख्रेल र आर्ट डाइरेक्टर प्रह्लाद गुरुङ नेपालबाट बर्लिन पुग्नेछन्।
निर्देशक आङ्देम्बेले आफू खुसी रहेको बताए। उनले भने ‘बेलाबेला लाज लाग्छ एउटै फिल्मको पछाडि पाँच वर्षसम्म दौडिनु परेकोमा। बेलाबेला खुसी लाग्छ कि, एउटै फिल्मले संसारभर यतिका वर्षसम्म पनि सम्मान, माया र अवसर पाइरहेकोमा। जे होस् संसारभरका फिल्ममेकर, कलाकार, प्राड्युसरहरुसँग भेट्न पाउँदा, आफ्नो अनुभव सुनाउन पाउँदा, उनीहरुको अनुभव सुन्न र हेर्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिल्दो रहेछ।’
'देश खोज्दै जाँदा'मा हेमन्त बुढाथोकी, मिना कोइराला, बाबु बोगटी, तिब्बत राई, ओवेत साम्पाङ, अरुणा कार्की, सुवास थापालगायतको अभिनय छ। फिल्ममा उपेन्द्र सुब्बाको पटकथा,संजय लामाको कोरियोग्राफी र मनोरन्जन श्रेष्ठको सम्पादन छ।