काठमाडौँ : सरकारले सबै पत्रकार तथा सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीको न्यूनतम पारिश्रमिक २५ प्रतिशतका दरले बढाएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको जानकारी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बितेको तीन वर्षदेखि पत्रकारहरुको न्यूनतम पारिश्रमिक परिमार्जन भएको थिएन।
यसअघि न्यूनतम पारिश्रमिक १९ हजार ५ सय तोकिएकोमा २५ प्रतिशत थप भएपछि अब २४ हजार ३७५ रुपैयाँ हुनेछ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने २९ हजार ५ सय रुपैयाँ सिफारिश गरेको थियो।
त्यसैगरी सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारी नियुक्त गरिएको छ।
त्यसैगरी नागरिक लगानी कोषका सञ्चालक डा. रामचन्द्र भट्टराई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।
जापान सरकारले सिन्धुली बर्दिवास सडक सुधारका लागि दिने एक अर्ब चार करोड रुपैयाँ बराबरको सहयोग रकम स्वीकार गर्ने निर्णय सरकारले गरेको छ।
उखु सम्बन्धी रणनीति तयार गर्न राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय पनि सरकारले गरेको छ।