
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहिद स्मारक ए डिभिजन लिगको परिमार्जित खेल तालिका सार्वजनिक गरेको छ।
आइतवार सार्वजनिक नयाँ तालिका अनुसार दशैँअघि पहिलो चरणका बाँकी ५ खेल हुनेछ।
असोज १३ गतेबाट सुरु भएको ए डिभिजन लिग दुई खेल भएपछि नै स्थगित भएको थियो। नेपालको राष्ट्रिय टिमले बंगलादेशमा बंगबन्धु गोल्डकल खेल्ने भएपछि लिग सुरुमै प्रभावित बनेको हो।
१० दिनको विश्रामपछि लिग असोज २४ गतेबाट पुन: सुरु हुनेछ। असोज २४ गते मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुनेछ। उक्त खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स च्यासलमा हुनेछ।
यस्तै असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। असोज २६ गते हिमालयन शेर्पा क्लब र एपीएफ तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच हुनेछ।
झण्डै पाँच वर्षपछि भएको ए डिभिजन लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र एनआरटीले २-२ को बराबरी खेलेका थिए। यस्तै दोस्रो खेलमा संकटाले सरस्वतीलाई १-० ले पारजित गरेको थियो।
लिगमा कूल ९१ खेल हुनेछ भने १४ ए डिभिजन क्लबको सहभागीता छ। विजेताले नगद ५० लाख र ट्रफी हात पार्नेछन्।