
काठमाडौंः नक्कली नोट छापेको आरोपमा थुनामा पुगेका निर्माता माधव वाग्ले धरौटीमा छुटे पनि अझै मुद्दा खेप्दै छन्। उनले जुन फिल्मको सुटिङका लागि नक्कली नोट छापेको भन्ने दावी गरेका थिए, त्यो फिल्म 'चंगा चैट' ट्रेलर भने आज सार्वजनिक भएको छ।
कमेडी अनि सस्पेन्सले भरिएको ट्रेलरमा फिल्मका मुख्य कलाकार आयुष्मान देशराज जोशी श्रेष्ठ, रविन्द्र झा, परमिता राज्य लक्ष्मी राणा, सन्दीप क्षेत्री, सुरक्षा पन्त, बेनिशा हमाल फिचर्ड छन्। ट्रेलरमा बेरोजगार युवाको अवस्थालाई देखाइएको छ।
ट्रेलरमा नोटको वर्षा भएको र कलाकारहरु नोट टिप्न लागिपरेको दृश्य पनि अटाएको छ।
महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले गत जेठमा वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको थियो। पछि उनी २५ लाख धरौटी बुझाएर रिहा भए।
फिल्मको गीतमा पनि पैसाकै कुरा छ। दर्शकले फिल्मको ‘गोजीमा दाम छैन’बोलको गीतलाई रुचाएका छन्।
फिल्मलाई दीपेन्द्र के.खलालले निर्देशन गरेका हुन्। माधवसँगै शर्मिला पाण्डे फिल्मका निर्माता हुन्। कार्तिक १६ गतेदेखि प्रदर्शनमा आउने फिल्मका अन्य कलाकारमा अभिनेत्री प्रियंका कार्की र अर्पण थापा छन्। फिल्ममा प्रदीप भारद्वाजको कथा र सूर्य थोकरको द्वन्द छ।