PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न : प्रम ओली



नेत्र तामाङ

हामी जादूगर हो र, स्याट्ट गर्दा कहिले अण्डा कहिले रुमाल आए जस्तै विकास गर्न : प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास जादूगरी शैलीबाट नभई योजनाबद्ध तरिकाले मात्र हुने बताएका छन्। 

राष्ट्रिय सभागृहमा आयोजित अवतरण पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री ओलीले आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा भने,  'समाजमा जादू देखाउन खोजेको होइन। विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट गर्दा कहिले अन्डा, कहिले रुमाल आउने।'

उनले सरकार विस्तारै विकासको काममा लागिसकेको दावी गरे। यो अवधिमा सातै प्रदेशमा प्रदेश सभा हल बनेको उल्लेख गर्दै विस्तारै विकास हुने उनको तर्क रह्यो।

'सात महिनामा सातै प्रदेशमा सभाहल बनाउन पर्यो्। धन्न काठमाडौंमा सम्मेलन केन्द्र रहेछ। नत्र राणाहरूको नाचघर रहेको सिंहदरबारमा बस्नुपर्थ्यो प्रतिनिधि सभा र राष्ट्रिय सभा पनि,' सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, राजधानीको त यस्तो हालत रहेछ। यो अवधिमा कानुनहरु बन्यो।‘ 

जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व गर्ने मौका दिएकाले त्यस्को विश्वासघात आफूले गर्नै नसक्ने ओलीले बताए। भने, 'मेरो देशको जनताले विश्वास गरेर दुई तिहाई मत दिएका छन्। म विश्वासघात गर्न सक्दिनँ। सुशासन र विकास लक्ष्य हो। म जिम्मेवारी पूरा गर्छु।'

देश संघीयतामा गएको र यो नयाँ चीज भएकोले शुरुमा केही असजिलो भएको र विस्तारै बानी पर्दै जाने प्रधानमन्त्रीको भनाई थियो। 'संघीयता नयाँ चीज हो। स्थानीय निकायहरुले भर्खरै सिक्दैछन्। उपमेयर र उपप्रमुखहरु कतिपय दिदीबहिनी हुनुहुन्छ। भर्खर श्रीमान बन्न लाग्नुभएको। अभ्यस्त त भइसकेका छैनन् नि,' ओलीले भने।

'द्वन्द्वका गम्भीर अपराधलाई छुट दिन्नौं' 

किताबमा केही खतरा केही सम्भावना औल्याइएको उल्लेख गर्दै ओलीले यसका कतिपय कुरा पाठकले विश्वास नगर्लान् कि भन्ने शंका पनि व्यक्त गरे। भने, 'हिजोको माओवादी र हिजोको एमाले मिल्दा मानिसहरुले अनेक भने। यसलाई पनि त्यस्तै भन्न बेर छैन। बच्चा त जन्मियो बच्ला र। कारखाना त खोलियो चल्ला र जस्ता कुरा गर्छन् मानिसहरु।'

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया केही बाँकी रहेको बताइरहेको बेला ओलीले भने शान्ति प्रक्रिया पूरा भएको दावी गरे। 

'द्वन्द्व व्यवस्थापन भइसकेको छ। यसको समुचित अवतरण भएको छ। शान्ति प्रक्रिया टुंगियो। सर्वभौमसत्ता सम्पन्न भएका छन् जनता। मान्छेहरुले अलिअलि त प्रश्न गरिहाल्छन्। आलोचनाका लागि सबैलाई धन्यवाद,' प्रधानमन्त्रीले भने। 

देश अब प्रतिगमनतिर नजाने भन्दै ओलीले द्वन्द्वको समयमा गम्भीर अपराध गरेकाहरुलाई नछाड्ने संकेतसमेत गरे। उनले भने, 'हामी अन्तरार्ष्ट्रिय कानुनहरु पनि पालना गर्छौ। हामी अमेरिकाको राष्ट्रपति जस्तो होइन। द्वन्द्वको समयमा गरिएका जघन्य अपराधलाई छुट दिने छैन।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell