काठमाडौं : चिनीको मूल्य निर्धारणका विषयमा संसद र सरकारबीच विवाद बढ्दै गएको छ। चिनीको मूल्य निर्धारणमा चलखेल भएको भन्दै प्रतिकिलो खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। तर, सरकारले संसदको निर्देशन अनुसार मूल्य निर्धारण गरेको छैन।
संसदको निर्देशन सरकारले अस्वीकार गर्नु संसदीय मर्यादाको अपमान भएको सभामुख कृष्णबहादुर महराको ठहर रहेको छ।
तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव चाहिँ आफूमाथि भ्रष्टाचारको गलत आरोप लगाएर अपमान गरेको भन्दै सांसदहरुलाई नै कारबाहीको माग गरिरहेका छन्।
सभामुख महराले भने संसदीय मामिलासम्बन्धी पत्रकारहरुको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसदहरुमाथि होइन, सरकारले गरेको काम कारबाहीमाथि छानबिन गर्ने प्रतिक्रिया शनिबार दिइसकेका छन्।
दशैँ-तिहार नजिकिँदै गर्दा सरकारले चिनी आयातमा रोक लगाउनु, चिनीको मूल्य आफूखुसी निर्धारण गर्नुजस्ता विषय शंकास्पद भएको आरोप संसदीय समितिले लगाएको छ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पाँच सदस्यीय उपसमिति गठन गरेर चिनीमा चलखेल भएकोबारे छानबिन अगाडि बढाएको छ।
संसदले चिनीको विषयमा छानबिन गरिरहँदा सरकारले अर्को कार्यदल गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य डा.दिलबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।
चिनी र चिनीको मूल्यसम्बन्धि समस्या समाधान गर्न गठित कार्यदलमा चिनी उद्योगीहरु पनि रहने छन्।
समिति र मन्त्रीबीचको विवाद
सार्वजनिक लेखा समितिमा बिहीबार चिनीको विषयमा छलफल भइरहँदा सांसदहरुले चिनीमा भ्रष्टाचार भएको आरोप लगाएका थिए। ‘चिनी चलखेलको पैसा उद्योग मन्त्रीको गोजीमा गयो कि?’ समितिकै बैठकमा सत्तासीन दलका सांसद प्रेमबहादुर आलेले प्रश्न गरेका थिए।हृदेयश त्रिपाठीलगायतका सांसदहरुले चिनीमा चलखेल भएको भन्दै उद्योग मन्त्रीको आलोचना गरेका थिए। त्यसपछि समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गराउन निर्देशन दिँदै चलखेल छानबिनका लागि उपसमिति गठन गरेको थियो।
उपसमितिले छानबिन सुरु गरेको भोलिपल्ट उद्योग मन्त्री यादवले पत्रकार सम्मेलन गरी संसदीय समितिविरुद्ध खनिए। चिनीको मूल्य मात्र होइन अरु सबै कुराको मूल्य निर्धारण गर्न समितिलाई चुनौतिसमेत दिए।
समितिप्रति आक्रामक अभिव्यक्ति दिएका मन्त्री यादवले आफूलाई गलत आरोप लगाउने सांसदलाई छानबिन गरी कडा कारबाही गर्न पत्रसमेत लेखे। उद्योग मन्त्रीले पत्रकार सम्मेलन गर्नुअघि चिनी सम्बन्धी छानबिन उपसमिति र मन्त्रालयका सचिवहरुबीच चर्काचर्की परेको थियो।
उद्योग मन्त्रीको पत्रमा सभामुखको जवाफ
चिनीमा भ्रष्टाचार गरेको आरोप सांसदहरुले आफूमाथि लगाएको भन्दै सांसदहरुलाई कारबाही गर्न उद्योग मन्त्रीले सभामुख कृष्णबहादुर महरालाई पत्राचार गरे।सांसदहरुले आफूमाथि आरोप लगाएको कुरा सञ्चारमाध्यमहरुबाट थाहा पाएको व्यहोरासहित मन्त्री यादवले कारबाहीका लागि सभामुखसँग माग गरे।
तर, सभामुख महराले सांसदमाथि कारबाही नगर्ने जवाफ मन्त्री यादवलाई दिएका छन्।
‘मैले मातृकाजीलाई भनेँ सांसदमाथि होइन उठाइएको विषयमा छानबिन हुन्छ,’ उनले संसदीय मामिला पत्रकार समाजको अन्तर्क्रियामा शनिबार भने,‘संसद सरकारको छायाँ होइन। संसदले आफूलाई लागेको विषयमा छानविन गर्छ।’