PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

हुनेका घरमा जमरा राखिँदै, घरै नहुनेले कहाँ राखुन्? प्रकोप पीडितमा दशैंको पिरलो



विधुर ढकाल

हुनेका घरमा जमरा राखिँदै, घरै नहुनेले कहाँ राखुन्? प्रकोप पीडितमा दशैंको पिरलो

'दशैं नै हो कि यो मेरो दशा फर्की आएको, 
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको?'

दशैं नजिकिँदै गर्दा गुञ्जिने यो गीतले कैयौं नेपालीको तीतो यथार्थलाई झल्काउँछ। दशैंको सुरुको दिन, आज घटस्थापना। सबैले जमरा राख्ने तयारी साता अगाडिदेखि नै गरेका छन्। तर, अझै पनि कतिपय भूकम्प पीडितहरुलाई दशैंसँगै बढ्ने जाडो तथा शितलहरको पिरलो छ।
 
तीन वर्ष देखि यस्तै चिन्तामा छन् स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ८ दमै डाँडाका बासिन्दा। २०७२ साल वैसाख १२ गते गएको विनाशकारी भूकम्पले घर भत्कियो। सरकारले दिएको पचास हजार अनुदानले घर बनाउँदै थिए। फेरि पहिरो आयो। बन्दै गरेको घरमा फेरि क्षति। अहिले पुन: घर बन्दैछ। तर, पहिरोको जोखिमले पुनःनिर्माण प्राधिकरणबाट खटिएका इञ्जिनियरले घर नबनाउने सुझाए। अहिले यहाँका चार परिवार घरै आडको अर्काको जग्गामा लामो टहरो हालेर एकै ठाँउमा बस्छन्। 

'कहिले नमैलेको बुढो झुप्रो रै'च सर हेर्नु, त्य'ले भूकम्प पीडित खिलिख्वात्तै पारो। हेर्नु सरकारले पचास–पचास हजार दिएको थियो। रिन खोजेर यता लगानी गरेको त्यही पनि बाढी पीडित भइयो,’ पीडित सुकमाया दर्जी (४५)ले पहिरोले क्षति पुराएको घर देखाउँदै भनिन्। 

दशैं नजिकिँदै गर्दा गाउँका घरहरु रंगिन थाले। छिमेकीहरु जमरा राख्ने सुरुमा थिए। तर, सुकमाया भने बिहान बेलुकी छाक टार्नका लागि 'कसको घरमा घाँस काट्न पाइन्छ' भनी खोज्दै थिइन्।
 
घटस्थापनाको साता अगाडि यो बस्तीमा पुगेका पत्रकारहरुसँग दुःखेसो पोख्दै थिइन्, ‘खोइ सर के दशैं आयो भन्नु, दिनको एक सय कमाउनका लागि अर्काको घरमा घास काट्न पाइन्छ कि भन्दै खोज्नु पर्छ। दशैंमा अरुले जमरा काट्लान तर हामीले अर्काका डियाँका लागि घास काट्नुपर्छ।’

अहिले बस्दै आएको टहरा पनि अर्काकै जग्गामा छ। पटक पटक हट्न भनेका छन्। अर्को सर्ने ठाउँ भने छैन उनीहरुसँग। ‘वडाध्यक्षले केही समयलाई बस्न भनेर यहाँ दिए। त्यही पनि हट भन्छन्,’ उनले भनिन्।
 
उनीहरु आफ्नो घर नजिकै रहेको नितन परियारको जग्गामा टिनको एउटा टहरो बनाएर चार परिवार बस्दै आएका छन्। घर बनाउनका लागि गाउँमै पाँच लाख किस्ता निकालेको भन्दै चुनमाया सरकारले बाँकी राहत दिए ऋण तिर्ने बताउँछिन्।
 
अर्की पीडित चुनकुमारी परियार साहुले ताकेता लगाइरहेको बताउँदै पीडितलाई दैबले पनि थप पीडा दिएको बताउँछन्। 

वालिङ नगरपालिकालाई ‘स्मार्ट वालिङ’ बनाउने उद्घोष गरिरहेका नगरप्रमुख दिलिप खाँड उपयुक्त जग्गा नहुँदा उनीहरुको व्यवस्थापनमा समस्या परिरहेको बताउँछन्। 

भूकम्पले भत्काएको घर सडकले खाइदियो

भूकम्पले घर भत्कायो। प्राविधिकले रातो कार्ड पनि दिए। तर, सम्झौता गर्न जाँदा त लम्जुङ राइनास नगरपालिका–६ भीमकुमारी पाण्डे (६०)को नाम फेला परेन्। गुनासो गरिन्। पछि आंशिक पीडित भनेर नाम आयो।
 
‘ठीकै छ त पूर्ण पीडित भनेर पैसा आए पनि घर बनाउन सकिँदैन। यसैलाई टाल टुल गरेर बसौँला भनेर माने तर यही पनि सडकमा पर्‍यो,’ उनले भनिन्।
 
राष्ट्रिय योजनाको रुपमा अगाडि बढेको मध्य पहाडी लोकमार्ग निर्माणाधीन छ। यही सडकले उनको भत्किएको घरसमेत ओगटेको छ। ‘अर्को जग्गा छैन। घर बनाउन खुबी पनि छैन। एउटा छोरो थियो। त्यही पनि विदेशमा ठगिएर फर्कियो,’ उनले रुँदै भनिन्, ‘गरिबलाई कसले हेर्छ, अब जे त होला होला।’
 
सडक सीमामा परेको भूकम्पले भत्काएको घरमा अहिले तीन जनाको परिवार छ। अर्को कुनै व्यवस्था छैन। भीमकुमारीले भूकम्प पीडितको पहिलो किस्ता वापतको पचास हजार रुपैयाँ त पाइन् तर न त घर मर्मत गर्न नै सकेकी छिन्। न त नयाँ घर बनाउन नै।
 
‘घर जम्मा १८ मिटरमा छ। सडकले २५ मिटर खाने रे। अर्को घर बनाउन अन्त जग्गा छैन। यसलाई मर्मत गरे यही पनि भत्किँदै छ,’ उनले भनिन्, ‘अब जति दिन यहाँ बस्न दिन्छन् बसौँला त्यस पछि जे होला सो होला।’ 

उनका छोरा हरि पाण्डे पहिलो पटक साउदीबाट कम्पनी खारेज भएर फर्किए। दोस्रो पटक कतार गए। मेनपावरले भनेको जस्तो काम भएन्। न त त्यहाँ काम गर्नका लागि वर्किङ परमिट नै पाए। विरामी भए ५ महिनामै फर्किए। 

छोरोलाई विदेश पठाउँदाको ऋण बाँकी छ, अर्कातिर साँझ विहान के खाने के लाउने भन्ने चिन्ता छ भीमकुमारीमा। 'अर्काको खेत अँधिया गरेर बसेका छौँ,' उनले भनिन्, 'साँझ विहान छाक टार्न धौधौ छ। कसरी जग्गा किन्नु कसरी घर बनाउनु।'

उनलाई थप किस्ता उपलब्ध गराउनका लागि सिफारिस गर्न नसकिने पुनःनिर्माण प्राधिकरणबाट खटिएका इञ्जिनियर सागर रानाभाट बताउँछन्।

‘हामीले उहाँलाई सिफारिस गर्न सक्ने अवस्था छैन। उहाँको समस्या जटिल छ। घर बनाउने ठाउँ छैन। त्यसको लागि उहाँहरुलाई छुट्टै व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘उहाँको नाम आंशिक क्षतिमा छ। उहाँलाई पूर्ण क्षतिमा परिवर्तन गराउने सुझाब दिएका छौँ।’

ठूलो बलियो घर बनाउन पैसा कहाँबाट ल्याउँ?

कास्की अन्नपूर्ण गाउँपालिका- ६ लुम्लेका थम्मन दमै भूकम्पले ढलाएको घर ठडाउँदै थिए। गाउँमा अलि पैसा हुनेका घर रंगिइसकेका थिए। अरुलाई दशैंको चटारो बढे पनि उनी भने सिमेन्ट र बालुवासँगै खेल्दै थिए।
 
सानो दुई कोठाको घर बनाउँदै थिए। पहिले भत्किएकै ठाउँमा त्यसको तल्तिर थियो उनी बस्दै आएको टहरो। यहाँ प्राधिकरणले इञ्जिनियर जमुना भट्टराईलाई खटाएको छ। थम्मनले बनाएउँदै गरेको घर मापदण्ड विपरीत भएको भन्दै उनले दोस्रो किस्ताका लागि सिफारिस गर्न नसक्ने बताउँदै थिइन्। 

'अब भएको जग्गा यत्ति हो। जस्तो जग्गा छ, त्यस्तै घर बन्छ बनाउँदै छु। माथि पनि जग्गा छैन। तल पनि छैन। जस्तो छ, त्यस्तै गरी बनाएको छु, अब ठूलो र बलियो घर बनाउन मैले कहाँबाट पैसा ल्याउने?,' त्यहाँ पुगेकी इञ्जिनयरसँगै उनले प्रश्न गर्दै थिए।
 
'तपाईँलाई मैले नबनाउन भनेकी थिए। आफ्नै सुरले बनाउँदै हुनुहुन्छ,' भट्टराईले साथमा रहेका वडा सदस्यलाई भनिन्, 'उहाँ (थम्मनलाई) तपाईँहरुले मनाउनुस्।'
 
उनले इन्जिनियरलाई मनाउने प्रयाससमेत गर्दै थिए, 'बलियो छ। बिम पनि हालेको छु।' छोरो दुर्घटनामा परेर अपांग भएको भन्दै थम्मनले आफ्नो क्षमताले भ्याएसम्म बनाएको बताए।
 
वडा सदस्य रामबहादुर गुरुङ पनि भूकम्प पीडित हुन्। थम्मनले बनाउँदै गरेको दुई कोठे घरको केही माथि गुरुङले १६ लाख खर्च गरेर पाँच कोठाको नयाँ घर बनाएका छन्। गुरुङ आफू पनि भारतीय सेनाका पेन्सनर। एउटा छोरा हङकङमा पानी जहाजमा काम गर्छन्। अर्का छोरा वेलायती सेनामा। सरकारले दिएको अनुदानमा सहजै पैसा थपेर उनले घर बनाए। 

तर उनको घर भन्दा तल बन्दै गरेको थम्मनको घर पूरा हुनका लागि सरकारले दिएको अनुदानसमेत काफी छैन। 'सरकारले जग्गा नहुनेका लागि जस्तो छ त्यस्तैमा बनाउन दिनुपर्छ,' गुरुङले भने, 'अब जग्गा नै छैन त कसरी ठूलो घर बनाओस?' 

'तपाईँले त अर्का यस्ता ठूला घर बनाउन सक्नुहुन्छ, तपाईँले पाएको राहत नहुनेलाई दिँदा हुँदैनथ्यो?,' हामीले वडा सदस्य गुरुङलाई सोध्यौँ। 
'हेर्नुस सरकारले दिएको हो, लिनै पर्‍यो। अब दिँदैनथ्यो भने त लिन्न थिएँ। अब उ (थम्मन) जस्तालाई पनि सरकारले राम्रो व्यवस्था गर्नुपर्छ। यसका लागि मैले पहल गरिरहेको छु,'  उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell