काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने प्रहरीलाई संगठनबाट नै फाल्ने चेतावनी दिएका छन्।
बुधवार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित कार्यक्रममा महानिरीक्षक खनालले प्रहरीलाई बदमासी गर्ने छुट नभएको भन्दै कारबाही गर्ने चेतावनी दिएका हुन्। महानिरीक्षक खनालले सङ्गठनभित्र केही किरा रहेको भन्दै फाल्ने बताए। उनले भने, 'प्रहरीमा आएपछि नराम्रो गर्न छुट छैन। प्रहरी भएर झनै बदमासी गर्न पाइँदैन। यस्ता बदमासी गर्ने प्रहरीलाई टिपेर फाल्छु।'
१३ वर्षीय निर्मला पन्त प्रकरण, देशभित्र भइरहेको एसिड काण्ड लगायत विषयमा प्रहरीको लापरबाही देखिएपछि महानिरीक्षक खनाल सङ्गठन भित्र रहेका केही प्रहरीको कारण बदनामी भएको भन्दै सङ्गठन सुद्धिकरण अभियानमा लागेको अभिव्यक्ति दिँदै हिँडेका छन्।
काम गर्दै जाँदा गल्ती भए आफूले जिम्मेवारी लिन तयार भएको तर कसैले नियोजितरुपमा गल्ती गरे सङ्गठन छोड्न समेत उनले चेतावनी दिए। महानिरीक्षक खनालले भने,' गलत काम गर्ने भए अरू व्यवसायतिर गए हुन्छ। विदेशतिर लागे पनि हुन्छ। तर सङ्गठन भित्र बस्न पाइँदैन।'
महानिरीक्षक खनालले ट्राफिक प्रहरीले चालकसँग लेनदेनको काम समेत गर्ने गरेको सुन्न आएको बताए। उनले अबदेखि लेनदेनको कुरा सुन्नुपर्यो भने आफूलाई सह्य नहुने समेत बताए। ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै आजबाट उपत्यकाभित्र सडक दुर्घटना न्युनिकरण गर्ने विशेष सुरक्षा व्यवस्था लागु गरेको छ।