.jpg)
काठमाडौँ : वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेपछि काठमाडौँ ७ का सांसद रामवीर मानन्धरविरुद्ध रैथाने नेवार समुदाय आक्रोशित भएको छ।
राजधानीमा आज भएको मानन्धर गुथिको एउटा धार्मिक कार्यक्रममा रामवीर मानन्धरलाई दिइएको सम्मान फिर्ता गर्ने निर्णय गरिएको छ।
सम्मान फिर्ताको हस्तलिखित विज्ञप्तिमा रामवीरले आफ्नो स्वार्थका लागि प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणाले आफूहरु सबैको चित्त निकै दुखेको उल्लेख छ।
'उहाँको यो कदमले सायमि (मानन्धर) हरुको मात्र हैन, सम्पूर्ण नेवार जातिको टाउको निहुरिएको छ', नेपालभाषामा लेखिएको विज्ञप्तिमा उल्लेख छ, 'यसको विरोधस्वरुप हामी थँहितिका मानन्धर समुदायले उहाँलाई दिएको सम्मान फिर्ता लिन्छौँ। किनभने उहाँ त्यो सम्मानका लागि लायकै होइन भन्ने तथ्य उहाँको गतिविधिले देखायो।'
उता, नेपालभाषामा प्रकाशन हुने रैथाने नेवार समुदायबीच लोकप्रिय दैनिक नेपालभाषा टाइम्सले बुधबारको अंकमा 'वामदेवलाई अन्तर्घातको खतरा' शीर्षकमा मुख्य समाचार छापेको छ।
समाचारमा मानन्धरको राजीनामाको निर्णयविरुद्ध काठमाडौँका नेकपाका कार्यकर्ता गएको, गौतमका लागि कार्यकर्ता परिचालन हुने सम्भावना कम भएको, वामदेवविरुद्ध अन्तर्घातसमेत हुनसक्ने उल्लेख छ।
त्यसैगरी नेवार बहुल क्षेत्रबाट बाहिरका जिल्लाका नेतालाई चुनावमा उठाउने कामले नेवारहरुको अपमान भएको र यसले राजधानीमा नेवार राजनीतिक कार्यकर्ताको भविष्य र सम्भावनालाई धमाधम संकुचित बनाएको टिप्पणी पनि समाचारमा छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौँ महानगरपालिकाका वडा नं. १६, १७, १८ र २५ तथा नागार्जुन नगरपालिकाका वडा नं. १, २ र ३ अनि तारकेश्वर नगरपालिकाका वडा नं. ३, ४ र ५ रहेका छन्। काठमाडौँका चार वटा वडा धेरै मतदाता भएका र नेवार समुदायको घना बस्ती भएका ठाउँ हुन्।
मानन्धर विजयी भएको काठमाडौँ ७ को नमूना मतपत्र।
मानन्धर चुनावी मैदानमा खडा हुँदा त्यहाँको मतपत्रमा नेपाली कांग्रेसको रुख चिह्न नै थिएन। कांग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको रुपमा त्यहाँ गाईलाई अर्थात् राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गरेको थियो। नतिजामा ८ हजार मतको अन्तरले थापालाई मानन्धरले पराजित गरेका थिए जसमा विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजारभन्दा बढी मत ल्याएकी थिइन्। क्षेत्रगत रुपमा समानुपातिक मतको विवरण निर्वाचन आयोगले नराखेकोले कुन पार्टीले त्यहाँ कति मत पायो, हेर्न सकिन्न।
तर स्थानीय तहको निर्वाचनमा यहाँका १० वडाका वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्ने हो भने यो क्षेत्रमा तत्कालीन एमाले र माओवादी केन्द्रको मत जोड्दा ने क पाको पक्षमा १७ हजार ९ मत छ भने कांग्रेसको पक्षमा १२ हजार ६४५ मत छ। राप्रपाको मत २ हजार ८९ मत छ। अर्थात् कांग्रेस र नेकपाको मतअन्तर प्रतिनिधि सभाको मतअन्तरभन्दा झण्डै आधा घटेर ४ हजार ३६४ छ।
वामदेवलाई चुनौति हुनसक्ने गरी झस्काउने अर्को तथ्यांक प्रदेश सभाको छ। प्रदेश सभाका दुई स्थानमा कांग्रेसको आफ्नै उम्मेदवार थियो। त्यसमध्ये पहिलो स्थानमा एमालेका वसन्तप्रसाद मानन्धर कांग्रेसका विजयबहादुर मालीलाई मात्र ३४ मतले पराजित गरेका हुन्। त्यसैगरी प्रदेश सभाको दोस्रो निर्वाचन क्षेत्रमा विजयी भएका एमालेका प्रकाश श्रेष्ठ र दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका धर्मराज अर्यालको मतअन्तर ७२० थियो। प्रदेश सभाका दुवै स्थानमा आएको मत जोड्ने हो भने एमाले र कांग्रेसको मतअन्तर हजारबाट पनि घटेर साढे सात सयमात्रैमा आएको छ। यस्तोमा सम्भावित अन्तर्घात वामदेवका लागि निकै महँगो साबित हुनसक्नेछ।
सम्बन्धित समाचार
मानन्धरकाे राजीनाबारे प्रचण्डले भनेः वामदेव हार्ने गरी उपनिर्वाचन गरिँदैन ढुक्क हुनुस्
काठमाडौँ ७ मा वामदेवका ७ चुनौति
काठमाडौंमा वामदेवले चुनाव जित्न कि ‘लहर’ आउनु पर्छ कि ‘कहर’
वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु : रामवीर मानन्धर