
- किशोर नेपाल-
शोभा भगवतीबाट कनिका लागि गुह्येश्वरीतिर। कान्तिपुरको सबैभन्दा पुरानो शक्तिपीठका रूपमा रहेको गुह्येश्वरीको हालत पनि शोभा भगवतीको भन्दा खराब थियो। फूल पसलेहरू अस्तव्यस्त थिए। पुलपारी असमेल बजार थियो। हरेक फूलवाल्नीले भक्तजनहरू आफ्नै पसलमा आउन् भन्ने फिराकमा देखिन्थे। कनिका पुग्नेबित्तिकै गुह्येश्वरीको ढोकैमा कसैको पकेट मारियो। दशैंको मुखमा वैदेशिक रोजगारमा दोहा उड्न तयार भएको केटो पशुपति गुह्येश्वरीको दर्शन गर्न आएको थियो। धन्य उसको वालेटमा धेरै पैसा राखेको थिएन। वालेटको उसलाई खुब माया लागिरहेको थियो। उसले कनिकालाई बतायो– ‘अर्चलाले दिएकी थिई त्यो वालेट। विदेशी भूमिमा त्यो वालेटले उसको सम्झनालाई तिखो बनाउँथ्यो। अब त्यो भएन। वालेटसँगै अर्चलाको फोटो पनि हरायो। ’गुह्येश्वरीको दर्शन गरेपछि केटो लजतिर लाग्यो। उसको फ्ल्याइट थियो राति एघार बजे। केटाको उदास अनुहार देखेर कनिका आफै पनि उदास भइ। उसले नजिकै उभिएको इन्स्पेक्टरलाई सोधी– ‘त्यो केटाको वालेट पाइएला त?’ इन्स्पेक्टरले जवाफदियो– ह्या बहिनी पनि त्यत्रो तेत्तीस किलो सुनको ढिका त फेला परेन त्यो जाबो सानो वालेट के फेलापर्थ्यो!’ त्यसपछि इन्स्पेक्टर सुर्तीले पहेंँलिएको दाँत देखाएर हाँस्यो। उसको दाँत देखेर कनिकालाई वाकवाकी लाग्यो। तै पनि ऊ फिस्स हाँस्यो।
पशुपति गुह्येश्वरीको मन्दिर सोचे भन्दा निकै सफा थियो। समस्या यतिमात्रै थियो कि मन्दिर र मन्दिर वरिपरिका फोहर उठाएर गौरीघाट अगाडिको बाग्मतीको किनारामा माओवादीहरू भूमिगत जीवनबाट समाजमा खुला भएपछि जंगलचिरेर बनाइएको कच्चीबाटो तिलगंगाको छेउछाउ र सडकका पेटिमा थुपारिएको थियो। कनिकाले विचार गरी एउटा सानो राजधानी हो एक दर्जन मन्दिर वरिपरिका फोहर हटाउन नसक्ने सरकारले देशमा थुप्रिएको फोहरको थुप्रो कसरी हटाउने हो?
कान्तिपुर शहरमा थुप्रिएको फोहर फाल्ने र पुर्ने कुनै ठाउँ बाँकी छैन। शहरको फोहर आफ्नो गाउँको छेउ किनारमा थुपार्न कुनै गाउँपालिकाले दिंँदैन। मानिसहरूसँगै फोहर बढ्दै जान्छ, नाली थपिंँदै जान्छ। जीवन झनझन् कष्टकर हुँदै जान्छ। सरकार चलाउने कसैमा पनि शहरको चिन्ता देखिंँदैन। शहरले मानिसलाई सुविधा दिएको छ। टाउको लुकाउने छाना दिएको छ। तै पनि मानिस कान्तिपुर शहरप्रति कृतज्ञ हुन सकेको देखिंँदैन। कनिका सोच्छे मानिसको सचेत मनमा यो कुरा कसरी घुसाउने होला?
पशुपतिको मूलढोकाबाट बाहिर निक्लेर उ जुत्ता राख्ने ठाउँतिर जाँदैथिई। केराको बोक्रामा चिप्लिएर सडकमा नै थेचारिई। उसको पुठ्ठो नराम्रोसित दुख्यो। कुहिना पनि दर्फरायो। उसको आँखुबाट तपक्क आँसु चुहियो। उसले मुन्टो उठाएर हेरी एउटा बाँदर उसलाई जिस्क्याइरहेको थियो।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ। )