PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

निजगढ विमानस्थल : एघार वर्षमा भएका यी हुन् एघार काम



बीपी साह

निजगढ विमानस्थल : एघार वर्षमा भएका यी हुन् एघार काम

काठमाडौं : प्रक्रिया सुरू भएको एघार वर्षदेखि बितिसक्दा पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले ठोस प्रगति हासिल गर्न सकेको छैन। 

नीतिगत प्रक्रिया अन्तिम चरणमा भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विवादबाट बाहिर रहेन। यतिखेर वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच रुख कटानको विषयले यसलाई थप विवादित बनाएको छ।

यसैबीच संघीय संसदमा पनि यो विवाद पुगेको छ। उक्त विषयमा संसदीय समितिमा छलफल जारी छ। नतिजाविहीन अवस्थामा यहाँसम्म आइपुग्दा यो विमानस्थलमा ११ काम भए। के हुन् ती?

एक : २०६४ माघ २७ गते विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययनका लागि वार्ता प्रक्रियाको जिम्मा मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई दियो। त्यसबेला मन्त्री थिए संस्कृति, पर्यटन तथा नागरिक उड्यन  पृथ्वीसुब्बा गुरुङ।

दुई : त्यसको झण्डै एक वर्षपछि २०६५ पुस २ गते योजना निर्माणको विस्तृत अध्ययन गर्न ल्याण्डमार्फ वर्ल्डवाइडसँग वार्ता गर्ने अधिकार पर्यटन मन्त्रालयलाई दिइएको थियो।

तीन : २०६६ कार्तिक ६ गते निर्माणका लागि ल्याण्डमार्क कोरियासँग विस्तृत अध्ययन सम्झौता गर्न मन्त्रालयलाई अनुमति दिइएको थियो। 

चार : त्यसको पाँच वर्षपछि अर्थात् २०७१ फागुन २ गते विमानस्थल निर्माणका लागि चार किल्ला तोकियो।

पाँच : त्यसको दुई वर्षपछि २०७३ वैशाख २३ गते जग्गा अधिग्रहण गर्नेबारे निर्णय भयो। 

छ : २०७३ फागुन २५ गते योजना क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण तथा पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी सुरक्षा निगरानी कार्य नेपाली सेनाबाट गराउन स्वीकृति दिने निर्णय भयो।

सात : २०७४ जेठ ७ गते मन्त्रीस्तरीय निर्णयबाट एयपोर्टको मोडालिटी तयार गर्ने कार्यदल गठन भयो। 

आठ : त्यसको दुई महिनापछि उच्चस्तरीय समन्वय तथा सहजिकरण समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट भयो।

नौ : २०७४ चैत्र १९ गते ल्याण्डमार्कले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने मन्त्रीस्तरीय निर्णय भयो।

दश : २०७५ असार १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट साइट क्लियर गर्न रुख कटानी र व्यवस्थापनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयको लागि वन वन तथा वातावरण मन्त्रालयलाई पठाएयो।

एघार : वन तथा वातावरण मन्त्रालयमा पत्र पुगेपछि रुख कटानीको विषय विवादित बनेको छ। अहिलेसम्म मन्त्रालयले रुख कटानीको विषयमा अड्को थापेर बसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell