PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

दशैँमा देश फर्किन नपाउनेको पीडा, भन्छन् 'विदेश आउनुपर्ने बाध्यता नहोस्'



विधुर ढकाल

दशैँमा देश फर्किन नपाउनेको पीडा, भन्छन् 'विदेश आउनुपर्ने बाध्यता नहोस्'
फाइल फोटो

काठमाडौँः दशैँ मनाउनकै लागि भनेर स्वदेश फर्किने विदेशीएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लर्को छ। उत्साह, उमंगमाझ नेपाल फर्किएका नेपालीसँग स्वदेश फर्किन नपाउनेको सन्देश र कोसेली पनि साथमा छ।

गाउँमा भएका बुढा बाबुआमाको हातबाट टीका र जमरा लगाउन नपाए पनि कपिलवस्तु वाणगंगा नगरपालिकाका तेजिन्द्र अधिकारीको कोसेली उनका बाआमासामु पुगिसकेको छ। उनी भने अझै पनि साउदी अरबको गर्मीमा काममै जोतिइरहेका छन्।

हरेक वर्ष दशैँ तिहार आउँदा विदेशिएका नेपालीको मन पिरोलिन्छ। पिडाका बीच उनीहरु विदेशी भूमिमा पसिना बगाइरहेका हुन्छन्।

शनिबार बिहान फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दा पृष्ठभूमिमा गीत बजिरहेको थियो, ‘नमुछे आमा दहीमा टीका नछरे जमरा’। ‘के गर्ने यार यस्तै छ पाँच वर्ष भयो नेपालमा दशैँ नमनाएको, यसपालि नेपाल जान पाइन्छ कि भन्ने थियो तर, त्यस्तै भयो,’ उनले भने।

यसपालि दशैँमा बालाई स्मार्टफोन पठाइदिएका छन् तेजिन्द्रले। भन्छन्, ‘अब स्मार्ट फोनमा घरको दशैँ भिडियोमा हेरिन्छ। भिडियोबाटै आशीर्वाद लिइन्छ।’

पाँच वर्ष भयो उनी साउदी पुगेको। पहिलो दुई वर्ष भने जस्तो तलब पाएनन्। विदेश जाँदा लागेको ऋण तिर्न सकेनन्। काम छाडेर अर्को कम्पनीमा लागेका उनी त्यो कम्पनी यस वर्ष दशैमा आउने योजना बनाएका थिए। तर बिदा मिलेन्।

यी पाँच वर्ष नेपालमा हुने दशैको रमाइलोबाट टाढै छन्। ‘सायद दशैँको रमाइलो पनि भुलियो होला। सानोमा दशैँमा पिङ खेलेको। तिहारमा भैलो खेलेको याद आउँछ,’ उनले भने, ‘अब आएँ भने फेरि नफर्किने गरी आउँछु।’

उनीमात्र होइन गाउँ दशैँमा रमिरहेका बेला हजारौँ नेपालीहरु विदेशी भूमिमा पसिना बगाइरहेका छन्। यस्तै हुन रुपन्देही देवदहकी सपना थापा। कतारमा रहेकी उनी यसपालिको दशैँ कतारमै मनाउने तयारीमा छिन्।

‘यसपालिको दशैँमा घर जान पाइएन। अघिल्लो साल दशैँको याद छ। यतै केही नेपाली साथीहरुसँग मनाउनुपर्ला,’ उनले भनिन्।

गुल्मीका पीताम्बर पन्त कोरिया आएको झण्डै दुई वर्ष पुग्न आँट्यो। यी दुई वर्ष उनले पनि त्यहाँ रहेका नेपालीहरूसँग दशैँ मनाएका छन्। घरमा ७५ वर्षका वृद्ध हजुरबुवा, ७० वर्षकी वृद्ध हजु आमा र आमा हुनुहुन्छ। कोरियामा पीताम्बरको दशैँ खल्लो हुँदा गुल्मी रेसुंगामा पीताम्बरका परिवारको दशैँ पनि खल्लो हुँदैछ।

‘घरमा वृद्ध हजुर बा हजुरआमासँग आशीर्वाद लिए जस्तो यहाँ खुसी कहाँबाट हुन्थ्यो र?,’ उनले प्रश्न गर्दै भने, ‘गाउँमा साथीसँग रमाइलो गरेको, पिङ खेलको याद खुब आउँछ।’

ग्रामीण विकासमा स्नातकोत्तर गरेका पीताम्बर नेपालमै केही गर्न चाहन्थे। तर परिस्थितिले कोरिया पुर्‍यायो। ‘आफ्नो गाउँ छाडेर आउने रहर कसलाई हुन्छ र? तर हाम्रो बाध्यता यस्तै छ। बुवाको उपचार गर्दा ऋण लाग्यो। बुवालाई बचाउन त सकिएन तर ऋण तिर्न पाए बुवाको आत्माले शान्ति पाउँथ्यो कि।’ उनले भने।

गाउँमा बोर्डिङ स्कुलमा पढाएर कमाएको खर्चले साँझ बिहान खान ठिक्क हुन्थ्यो ऋण तिर्न विदेशिनु बाध्यता थियो पीताम्बरसँग। ‘स्कुलमा भाइस प्रिन्सिपल भएर पढाएको याद आउँछ। विद्यार्थीहरुलाई नेपालमै केही गर्नुपर्छ भनेर पढाइयो। अहिले आफैँ विदेशमा आउन बाध्य भइयो,’ उनले भने।

रुपन्देही कञ्चन गाउँपालिकाका दिलीप आचार्यले नेपालमा दशैँ नमनाएको दुई वर्ष भयो। यसपटक पनि उनी नेपाल आउन पाएनन्। घरमा बाबुआमा, श्रीमती र दुई वर्षकी छोरी छन्।

छोरीको मुहार पनि हेर्न नपाएका उनी दशैँमा पनि आफ्नी पहिली छोरीलाई अझै आशीर्वाद दिन पाएका छैनन्। ‘रहर त सबैलाई हुन्छ। तर बाध्यता अर्को ठाउँमा छ,’ उनले भने, ‘अरू त त्यस्तै हो छोरीको याद आउँछ।’

यसपटक सोलमा नेपाली समुदायले दशैँ मनाउने कार्यक्रम तय भएको छ। सोही कार्यक्रममा जाने योजना बनाइरहेका छन् उनले। ‘घरको जस्तो त हुँदैन। तर यहाँ पनि हाम्रै गाउँका साथीहरु टन्नै छौँ। १५/२० जना एकै ठाउँमा जम्मा भएर खसी काट्ने योजना छ।’

तर पनि उनी भन्छन्, ‘नेपालीलाई विदेश आउनुपर्ने बाध्यता नहोस्। नेपालमै काम गर्ने वातावरण होस।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell