PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ



पहिलोपोस्ट

बालिका बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

धनुषाः धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। पक्राउ पर्ने दुबै मृतक बालिकाका छिमेकी हुन्।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो। मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताए।

मुखिया यसअघि पनि लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्।

शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य सुरु गरिएको थियो।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell