८६ वर्षीय कृष्णबहादुर रुद्रायणीबनेर नाच्दै (बायाँ) , नाच्नका लागि वस्त्र लगाउँदै (माथि), जात्रा अघि गफिँदै (तल)
उखु र भोगटे बोक्दै धानबारी बीचबाट आइरहेका ७/८ जना किशोरहरुलाई कृष्णबहादुर महर्जन चाखपूर्वक नियाल्दै थिए।
कृष्णको दुई पटक जंको भइसक्यो। नेवार समुदायमा ७७ वर्ष ७ महिनामा पहिलो र एक हजार पटक चन्द्रमा दर्शन हुँदा ८२ वर्षको उमेरमा दोस्रो जंको गरिन्छ।
उनको उमेर ८६ वर्ष भयो। दुई वर्षपछि तेस्रो जंको हुनेवाला छ।
यो उमेरका अरुहरु हिँडडुल गर्न नसकेर जीवनदेखि दिक्क मान्दै मृत्यु पर्खिरहेका होलान्, तर कृष्णको जोश बेग्लै छ। उनी त यहाँ रुद्रायणी बनेर नाच्न तम्तयार छन्।
५१ वर्ष भइसक्यो यसरी नाचेको। सोमबार ५२ औँ पटक नाच्न जात्रामा लगाउने आफ्ना वस्त्र र ख्वापा (मुकुण्डो) राखिएको भाँडो कुर्दै थिए उनी।
रुद्रायणी मन्दिरबाट सिकाली पुग्न करिब १५ देखि २० मिनेटसम्म लाग्छ। बाजा सहित रुद्रायणी गुठीका देवगणहरु सेतो वस्त्रमा हिँड्दै सिकाली पुग्दै थिए। केही बालकहरु धिमे बजाउँदै उनीहरुका अघि हिँड्दै थिए। देवगणका छोरा र नातिहरु वस्त्र, गहना र ख्वापा बोक्दै सिकाली प्रवेश गरे लगत्तै कृष्णबहादुर मन्दिरमा भन्दा केही पर रहेको सत्तलमा पुगे।
सिकाली जात्राका बेला देखाइने नाचहरुको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ। गुठीमा रहेका ४६ जना देवगण (गुठीयार) हरु बीच कार्य विभाजन गरिएको हुन्छ। सबैजना महर्जन/डंगोल खलकका हुन्छन्।
सिकाली जात्रा अन्तर्गत १४ देवीदेवता (रुद्रायणी, भैरव, कुमारी, गणेश, ब्रहमा, विष्णु, महादेव, इन्द्रायणी, बाराही, चामुण्डा काली, महालक्ष्मी, कुमार, हनुमान र शक्ति कुमार) को नाच देखाइन्छ। ४६ जना मध्ये १४ जना देवदेवीको भूमिकामा रहन्छन्।
उनीहरु मध्ये सबैभन्दा थकाली (जेठा) कृष्णबहादुर नै हुन्। सतलमा नृत्य गर्ने १३ जना (चामुण्डा काली बाहेक) आफ्नाआफ्ना वस्त्र र गहना लगाउन व्यस्त थिए। कृष्णबहादुरलार्इ तयार हुन उनका नाती प्रगेश महर्जनले सघाउँदै थिए।
मध्यरातसम्म नाच्ने अभ्यास
विक्रम संवत् २०२३ सालमा पहिलो पटक रुद्रायणी बन्दा जस्तो जोश थियो, वस्त्र र गहना लगाउँदै गर्दा आज पनि उनमा त्यही जोश देखिन्थ्यो। उनी भाँडोबाट वस्त्र र गहना निकाली सरासर आफै तयार हुँदै थिए।जात्रा हेर्न आएकाहरु कृष्णबहादर महर्जनको नृत्य हेर्न पर्खिरहेका थिए। धेरैको एउटै मत थियो, 'नृत्य गर्दा २० वर्ष अघि कृष्ण र अहिलेका कृष्णमा केही फरक छैन।'
केही दिनअघि मन्दिर अगाडि रहेको गुठीको घरमा आफ्नो फोटो देखाउँदै उनले भनेका थिए, 'पहिला युवा उमेरमा जोश थियो। अहिले अलि गाह्रै छ।'
तर त्यो समय र यो समय नाच्ने शैली भने परिवर्तन नभएको बताउँदै उनले भने, 'हामी सबै जात्रा सुरु हुनु केही हप्ता अघि देखि यहाँ नाच्ने अभ्यास गर्छौं।'
सिकाली जात्रा अघि रुद्रायणी मन्दिर अघि रहेको गुठी घरमा रातिको १०-११ बजे सम्म नृत्यको अभ्यास हुने बताउँछन् गुठियार बेखनर महर्जन। 'पहिला युवाअवस्थामा उहाँहरु उफ्रिएर नाच्न सक्नु हुन्थ्यो। अहिले त्यस्तो नहोला। तर उहाँहरुमा निकै जोश छ। आफ्नो संस्कृति प्रति माया छ। अरु यो उमेरमा हिँड्डुल गर्न नसकने अवस्थामा हुन्छन्। उहाँहरु भने दैनिक राति हुने नृत्य अभ्यासमा आउँथे।'
कृष्णबहादुर कै छेउमा कुमारको भेषमा नृत्य गर्न कृष्णगोपाल डंगोल पनि तयारी गर्दै थिए। उनी गुठी प्रवेश गरेको त्यसतै ७-८ वर्ष भयो।
उनीभन्दा पहिले उनका बुवा कुमार बनेका थिए। संस्कृति जोगाउन आफू कहिले पछि नपर्ने बताउँदै उनले भने, 'पहिला देवता नबन्दा पनि पछि आफूले यो नृत्य गर्नै पर्छ भन्ने थाहा थियो। हाम्रो परम्परा नै यस्तो छ।' नाच्दा गाह्रो हुने भएपनि ख्वापा लगाइसकेपछि एक प्रकारको सन्तोष मिल्ने उनी बताउँछन्।
८६ वर्षीय कृष्णबहादुर महर्जन।
जात्राको चटारोमा दशैँ बिर्सने सहर
देश पूरै दशैंमय भएको छ। काठमाडौंमा मानिसहरुको संख्या पातलिँदै गएको छ। तर काठमाडौं उपत्यकामै रहेको ऐतिहासिक नेवार वस्ती खोकनाको दृश्य भने केही पृथक छ। खोकनावासीहरुलार्इ दशैंको कुनै चटारो छैन। उनीहरु दशैं मनाउँदैनन्। बालबालिका, युवा, वृद्धवृद्धा सबै रुद्रायणी (सिकाली) जात्राको माहौलमा मस्त छन्। घटस्थापनाको दिन मचा पुचा गरेर सुरु भएको सिकाली जात्रा अन्तर्गत आइतबार खोकनावासीहरु खोकना भन्दा केही पर रहेको सिकाली मन्दिर परिसरमा रुद्रायणी (सिकाली) जात्रामा सामेल भएका थिए।सिकाली चौरमा १३ जनाले वस्त्र र ख्वापा लगाइ तयार भएपछि त्यहीँ एउटा बोकाको बलि दिई पूजा गरिएको थियो। बाहिर रहेका अन्य केही देवगणहरु भने खिं, ता:, प्वंग, झ्याली बजाउँदै थिए। बाँकी देवगणहरु भने आराम गर्दै थिए।
बलि दिइसकेपछि विस्तारै सबै देवगणहरु सतलमा प्रेवश गरी भैरववाट कालो टिका थाप्दै थिए। पुजाको सबै प्रक्रिया सम्पन्न भएपछि सिकालीको माहौल निकै रोमान्चित बन्न पुग्यो। चौरको दाँया बाँया मानिसहरुको हुल, केही किशोरहरु भने उनीहरुलार्इ व्यवस्थित गर्दै बीचमा बाटो बनाउन व्यस्त थिए।
यसैबीच १३ देवगणहरु एकएक गरी सतलबाट निस्के। ललितपुर क्षेत्र नम्वर ३ कि सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल सहित सरकारी अधिकारीबीच फोटो सेसन चल्यो।
ह्यान्डसम देवता
केही समय पछि १३ जना देवगणहरु पालैपालो उफ्रिँदै सिकाली मन्दिर पुगे। सबै देवगणहरुलार्इ दुर्इ जना सहयोगीले उफ्रिन सहायता गर्दै थिए। यसैबीच पालो आयो कृष्णबहादुरको।८६ वर्षीय थकाली कृष्णबहादुर बाजाको तालमा नाच्दा उनमा उमेरको असर केही देखिएन। उनी अरु देवगण जस्तै उफ्रे, दायाँ बायाँका मानिसहरु भने उनलार्इ अक्षताले पूजा गर्दै थिए। अरु बेला पनि कृष्णबहादुर युवाभन्दा कम्ता 'ह्यान्डसम' देखिँदैनन्। कपाल बाँधेर हिँड्दै गर्दा धेरैले उनलार्इ 'जवान' नै ठान्ने गर्छन्।
सबै देवगणहरु मन्दिर परिक्रमा गर्दै माथिल्लो क्षेत्रमा नाच देखाइ फेरि सिकाली परिसर मै पुगेर आराम गरे। त्यसपछि समयबजी खाएर सबै खोकना पुगे।
यसैबीच कृष्णबहादुरले आफूले यत्रो समय निर्धक्क नाच्न पाउनुमा देवदेवीहरुको आशीर्वाद रहेको बताए। जात्राका क्रममा उनको फोटो लिन आउनेको भीड हुन्छ। तर फोटोग्राफरप्रति गुनासो पनि रहेछ उनको। हामीले उनको फोटो खिच्ने भन्दा उनले नेपालभाषामा मुस्काउँदै भने 'फोटो ब्यु वा, फोटा कया सुनां न बि मखु।' (खिचेको फोटो दिन आउनू। फोटो लिन्छन् तर कसैले दिन आउँदैनन्।)