दीपाश्री निरौला हिरोइन बन्न विराटनगरबाट काठमाडौं आएकी थिइन्। तर अहिले निर्देशक बनेकी छिन्। फिल्म ‘छक्का पञ्जा’को तीनवटा संस्करण दशैंको छेको पारेर रिलिज गराएकी उनको गत दुई वर्ष यताका दशैं गज्जब बनेका छन्। किनकी फिल्म व्यवसाय र लोकप्रियताको हिसाबले सफल ठहरिएका छन्।
तर एक समय यस्तो थियो जब उनीसँग दशैं मनाउन घर जाने पैसा समेत थिएन। र, रुँदै काठमाडौं बस्न बाध्य थिइन्। ‘संघर्षरत थिएँ। अवस्था स्वीकारें र घरमा चाहिं काम छ भनेर ढाटें’, उनी सुनाउँछिन्। दीपा २२ वर्षअघिको त्यो दशैं सम्झन्छिन,'काठमाडौं त बसियो तर न लिङ्गे पिङ, न आफन्त। कस्तो खल्लो भयो काठमाडौं बसाई।‘
विराटनगर रहेको परिवारले निकै पछि मात्र थाहा पाए त्यो वर्ष छोरी घर नआउनुको कारण।
‘अभावको कुरा थाहा पाउँदा बुवापनि मसँगै रुनु भयो। र निकै गाली गर्नुभयो।’
त्यसपछि भने जस्तोसुकै अप्ठ्यारो र अभावमा पनि दीपा विराटनगर जान थालिन्। दशैं उनको लागि घर जाने मौका बनेर आउँछ।
किचकिचे दीपा
दीपाका ६ दिदी बहिनीमध्येकी साइँली उनी व्यवहारले चञ्चले अनि जिद्दी। दशैंमा सबैले बराबरी दक्षिणा पाउँदा उनी भने किचकिच गर्थिन्। जसरी हुन्छ उनलाई धेरै पैसा चाहिने। दिदीहरुलाई ५० र उनलाई २० रुपैयाँ दिएको थाहा पाउँदा कतिपटक टीका लगाउनेकै अगाडि पैसा फालेर हिँड्थिन्। ‘बुवाले ‘ठूलो भएपछि दिन्छु’ भनेर फकाउनु हुन्थ्यो।‘दक्षिणा मात्र होइन नयाँ लुगाको हकमा पनि उस्तै किचकिचे भएको सुनाउँछिन्। ‘मलाई दिदीहरुको जस्तै लुगा चाहिन्थ्यो। अनि दुई जोर नपाए त आँगनमै लडिबुडी गर्थें’, बाल्यकालको कुरा हाँस्दै सुनाइन्। धेरै दु:ख दिएपछि उनका लागि कपडाको थान किनेर ल्याइदिए। ‘त्यसपछि जति भन्यो त्यति सिलाउन पाइयो।’
दीपाको लागि दशैंको उत्साहनै नयाँ लुगा किनेपछि भित्रन्छ। उनी अझै पनि दशैंको लागि लुगा किन्छिन्। ‘पहिले रहरले अहिले धार्मिक आस्थले’, भनिन् ‘छाइछुई नगरेको लुगा देवीको प्रसाद बनाएर ग्रहण गर्छु।‘
पिङमा मच्चिन डर
सानो छँदा बुवाले घरको सिलिङमा पिङ हालिदिन्थे, त्यसैले उनलाई आजसम्म पनि पिङ खेल्न खुब मनपर्छ। पिङ्को कुरा सुनाउँदा हाँस्दै सुनाइन्- दुई दिदी बहिनी एकैपल्ट मच्चेर पिङ खेल्दै थियौं चुँडिएर पछारियौं। मेरो टाउकोमा चोट लाग्यो। टाँका लगाउनको लागि कपाल नै मुण्डन गर्नु पर्यो। दशैंभर बिना कपाल टिका लगाउन डुल्दा उनी लाजले भुतुक्क भइन्।‘त्यसपछि त पिङमा मच्चिन असाध्यै डर लाग्छ।‘
शाकाहारी दशैँ
उनलाई दशैंमा उदास बनाउने एउटै कुरा- आमाको याद हो।आमाको सप्को समातेर मामाघर जान पच्छ्याएको उनलाई हिजैजस्तो लाथ्छ। छोरीको दक्षिणा थोरै भए फाल्ने बानीले आमालाई पनि हत्तु बनाएको थियो। भन्थिन्,‘पैसा नफाल्ने र नरुने भए मात्र लान्छु।‘ हस् भनेर दीपा पछिपछि लाग्थिन्।
‘धेरै पढेर सुब्बा हुनु भन्ने आशिर्वाद दिनुहुन्थ्यो आमा। धेरै पढ्न सकिनँ। अहिले सुब्बा पात्रको अभिनय गरेर चित्त बुझाउँछु।‘
उनी शाकाहारी भएकाले खसी वा मासुले भने उनको दशैंमा कुनै परिकार थप्दैन।
‘दशैं आशिर्वादको चाड हो। त्यही आशिर्वादको शक्तिले वर्षभरी काम गर्ने ऊर्जा पाइन्छ। दशैंमा म कलाकार दीपा होइन परिवारको ‘दीपे’, ‘पकौडी’, ‘साइँला’ हुन पाउँछु।‘