मासुभात र नयाँ लुगाको पर्याय थियो दशैं। कुटेको चिउरा खान पाउनु अनि रातो माटोले घर रङ्गाउनु अब भने बिरानो बनेको छ जीतु नेपाललाई।
तर, अभाव नै अभावमा दशैं मनाउँदाका ती दिन आज पनि ताजा छ उनको स्मरणमा।
सिन्धूपाल्चोकको बलेफीमा जन्मे जीतु। आर्थिक रुपमा बलियो घर थिएन उनको परिवार। त्यसैले दशैं पनि हिसाब गरिगरी आउँथ्यो।
साथीहरुको नयाँ लुगा बास्ना आउन थाल्थ्यो। उनको भने सधैं ढिला। बल्ल बल्ल सिलाउन हालेको सर्ट पाइन्ट पनि एउटै रङको हुने। बढी भएको कपडाले टोपी सिलाइदिन्थे।
‘अभाव थियो। हामीले नयाँ लुगा दशैंमा मात्र लगायौं। मासु खान पनि दशैं नै कुर्न पर्थ्यो’, जीतु सुनाउँछन्। बजारमा बस्ने दाइ छोराछोरीलाई लाम लगाएर आउँथे। उनको लागि लुगा, चक्लेट लान्थे। त्यसपछि उफ्रँदै घर पोत्ने रातो माटो खन्न जान्थे।
‘घर रङ्ग्याउनुले दशैंको उमंग थप्थ्यो‘, भन्छन्,’कसको घर राम्रो बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो।‘
उनलाई दशैंको मनपर्ने पक्ष भनेको परिवरिक जमघट र लिङ्गे पिङ पनि हो। सानो छन्जेल दाइहरुले पिङ हालेको हेर्थे। ठूलो भएपछि आफैले पिङ हाल्न सिके।
आफ्नो मामा नहुनुले दु:ख उनलाई दशैंमा मात्र महसुस हुन्थ्यो। किनकी भान्जालाई दक्षिणा दिन्छन् भन्ने उनले साथीहरुबाट थाहा पाएका थिए। पछि आमाको ठूलोआमाको छोराहरुसँग टीका लगाउन जान थाले। सुनाए, ‘टीका लगाइसकेपछि दक्षिणा कतिखेर दिनुहुन्छ पर्खन्थ्यौं।‘
दुई कक्षा पढ्दा मामाले सबैभन्दा धेरै दक्षिणा दिएको उनलाई अझै सम्झना छ। ‘सधैं एक दुई रुपैयाँ दिनुहुन्थ्यो। त्यो वर्ष पाँचको नयाँ नोट दिनु भयो।‘
खुद्रा नभएर हो कि आफू ठूलो भएर पाँच रुपैयाँ पाएको सोचेको सोच्यै भए। त्यो नोट चलाउन उनलाई निकै पछिसम्म माया लाग्यो।
काठमाडौं आएपछिको दुईचारवटा दशैं उनका लागि नौलो बन्यो। उनी पनि दाइहरुजस्तै घटस्थापना पछि मात्र गाउँ जान थाले। आमा बुवा गाउँमा थिए। पाँच दाजुभाइहरु कोही चामले किनेर जान्थे, कोही खसी किन्थे। उनी पनि आवश्यक केही लिएर गाउँ जान्थें।
केही पछि त उनले दशैं काठमाडौंमा नै मनाउन थाले। आमा बुवालाई काठमाडौं ल्याए। १५ वर्ष भयो जीतु नेपाल परिवारको दशैं गाउँ फर्केको छैन। ‘मेरो माइलो दाई कमल नेपालको जडिबुटी नरेफाँटमा घर छ। अहिले त्यसलाई हामी मुलघर मान्छौं। हामी फूलपाती एकजनाकोमा, टीका दाइकोमा, अष्टमी एउटाको मनाउँछौं।‘
४२ वर्षीय जीतुको बुवा बिते। अहिले ठूलो आमाले उनकी आमालाई टिका लगाइदिएपछि परिवारको टीका सुरु हुन्छ। परिवार ठूलो बनेको छ। लाइन लागेर पालैपालो टीका लगाउँदा घण्टौ लाग्ने बताउँछन्।
विदेशमा दशैं मनाउँदाको अनुभव पनि छ उनीसँग। ३५ देश घुमिसकेका जीतुले एउटा दशैं अमेरिकामा मनाए। ‘त्यतिखेर घरपरिवार खुब मिस भए। तर त्यहाँ पनि रमाइलो नै गर्यौं।‘
अभावका दिन सकिए। अहिले न लुगा पाउन दशैं कुर्नुपर्छ न मासु खान। पुराना याद कथाजस्तो बने। दशैंमा चिउरा कुट्न जाँदा दिनभरी मिलमा उभेको कुरा सुनाउँदा उनका छोराछोरीले पत्याउँदैनन्। उनी भने हरेक वर्ष ती दिनहरु सम्झन्छन्। उनलाई गाउँमा मनाएको दशैं नै प्यारो लाग्छ।