PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

असनवासीको आजदेखि टीकाटालो सुरु, किन एकादशीदेखि मात्र लगाउँछन् टीका?



सहयोग रञ्जित

असनवासीको आजदेखि टीकाटालो सुरु, किन एकादशीदेखि मात्र लगाउँछन् टीका?

काठमाडौः अन्नपूर्ण मन्दिरका पा:ला:, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई आज अर्थात एकादशीका दिन टीका लगाएका छन्। अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने परम्परा रहदै आएको छ। शनिवार खड्ग जात्रा(पायः) निकालेपछि प्रायले टिका थाप्ने प्रचलन रहदै आएको छ।

किन एकादशीका दिनदेखि मात्र टीका ?

लाभरत्न तुलाधरका अनुसार असं चालंका बारे बुझ्न असनको नामका बारे बुझ्न जरुरी छ। धाल्छिक बहालमा रहेको पुरानो शिलालेखमा यस स्थानको नाम 'अशोकमण्डप' उल्लेख थियो।

अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए। उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए। अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम 'अशोकमण्डप' बन्न गएको लाभरत्नले बताए।

नेपाली समाजमा ठूलो अक्षरलार्इ सानो बनाउने प्रचलन रहेको हुँदा अशोकमण्डपको नाम असन रहन गएको उनको भनाइ छ।

अशोकले यसलार्इ आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए। तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ति गरिरहेकोमा पश्चताप गरे। राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्नँ भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको लाभरत्नले बताए।

कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए। उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो। त्यस अनुसार वध गर्नु पर्थ्यो।

तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचारकहरु मान्दै आएकाहरुले उनीहरुलार्इ रोके। अशोकले अस्त्र त्याग गरेको स्थानमा बलि दिन नहुने अडान लिए। सारा देशले गरेको, असनमा मात्र नमनाउने कुरा पनि त भएन। त्यसैले दुर्इ पक्षबीच दशमीको भोलिपल्ट बलि दिने सहमति भयो। यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चाल का रुपमा मनाउन गरिएको उनी बताउँछन्। 

नवमीका दिन यसैसँग सम्बन्धित असनको अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको यिता चपा ( दुर्इ तल्ले डबली) मा गुठी संस्थानले बाँसमा झुण्डाएको भैरव ध्वज परिवर्तन गरेको थियो। बलि दिने भएपछि भैरवको साधना गरेर त्यसको क्षमा माग्दै भैरव ध्वज राख्ने प्रचलन रहेको छ। त्यस क्रमा त्यहाँ बोकाको बली दिइएको थियो। त्यस डबलीमा पहिला पहिला कुमार प्याखं हुने गरेको भए पनि २२ वर्ष देखि त्यो रोकिएको लाभरत्नले बताए। 

यस्तै, टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले उनीहरुले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको दीपेश तुलाधरले बताए। टीकाका दिनहरु पनि मान्छेहरुलार्इ विभिन्न सामान चाहिने हुँदा उनीहरुलार्इ दुःख नहोस भनेर आफ्ना पूर्वजहरुले टीका एकदिन पछि मनाउन सुरु गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell