शिक्षण अस्पताल महाराजगञ्जको गेट बाहिर दशैंको एकखाले रौनक देखिन्छ। सडकदेखि पसलसम्मै चहलपहल, निधारमा राता टीका र पहेला जमरा भिरेका मानिसहरु। गेटभित्र छिरेपछि भने ठीक उल्टो अवस्था। केही उदास अनुहारहरु ओहोर दोहोर गरिरहेका छन् यो कम्पाउन्ड भित्र। सडकमा जसरी चाप घटेको छ, अस्पतालमा पनि भिड छैन। औषधि पसलदेखि टिकट काउण्टरसम्म खाली। जति बिरामी छन्, अस्पताल पुग्नै पर्ने बाध्यताका मात्र। त्यसको 'रिफ्लेक्सन' बिरामी कुरुवामा स्पष्ट देखिन्छ।
अस्पतालकै चौरमा यमनारायण परियार घाम तापिरहेका छन्। अन्य बिरामी कुरुवा जस्तै निराश देखिए उनी। भर्खरै श्रीमती वसन्तीको ब्याण्डेज बाँधेर फुर्सद पाएका हुन् उनले। वसन्ती महिना दिनदेखि जीवन मरणको दोसाधमा छिन्। उनी झिनो आशा बोकेर कुरिरहेका छन्, यहाँ। १ महिना भयो अस्पतालमै यसरी नै कुरेको। दशैंको टीकाको दिन अरुतिर मानिसहरुले रमाइरहँदा उनी भने अस्पतालमा कुरुवाकै रुपमा मात्र रहे।
असोज ८ गते वसन्तीमाथि एसिड आक्रमणमा भयो। त्यसयता अस्पतालमै छन्, यमनारायण। छोराछोरीसँग भेट भएको छैन। सबैलाई दशैं लाग्दा दशा लागेको छ उनलाई।
एक महिनादेखि छोराछोरी भेटेका छैनन् उनले। वसन्तीले त झन् आवाजसमेत सुन्न पाएकी छैनन्। छोराछोरी पनि आमासँग बात मार्न नपाउँदा निराश छन्। भेट्ने अझै टुंगो छैन। फोनमा बोल्दा भयानक घटना छोराछोरीले थाहा पाउलान् भन्ने डर छ। त्यही कारण वसन्ती र छोराछोरीको कुरा गराएका छैनन् यमनारायणले।
***
यसपटकको दशैं विशेष मनाउने योजना थियो वसन्तीको। बिहे गरेको १३ वर्ष बित्दा तीनपटक पनि श्रीमानसँग दशैं मनाउन पाएकी थिइनन्। ९ वर्ष विदेश बसेकाले यमनाराणको दशैँ उतै हुन्थ्यो। यसपटक भने छोराछोरीसँग दशैं मनाउने योजना थियो। घरमै खशी काट्ने योजनामा थिए। ससुराली जाने योजना पनि थियो। बच्चाहरु पनि पहिलोपटक 'ड्याडी'सँग दशैँ मनाउन पाउने भएर दंग थिए।
निकै योजना बनेका थिए। तर, ती सबै चकनाचुर। श्रीमती अस्पतालको शैयामा लडिरहेकी छिन्। छोराछोरी बाबु आमा फर्किने आशामा गाउँमै बाटोतिर आँखा लगाइरहेका छन्।
उनले चित्त बुझाइसके - यसपाली यस्तै भयो। तर, छोराछोरी? के भन्ने उनीहरुलाई? वास्तविकता थाहा पाए के गर्लान उनीहरुले?
***
वसन्ती बोल्न थालेकी छिन् अलिअलि। आवाज बुझ्न अझै मुस्किल छ। हिँड्डुल गर्नसक्ने अवस्था छैन। पाइपबाट खाना खुवानुपरेको छ। उनी यमनारायलाई गुनासो गर्छिन्, 'पहिले भन्दा झन पोल्न थालिराछ। सहनै नसक्ने भइसक्यो। ज्वरो आइसक्यो। बाँचेर मेरो काम छैन। मलाई मर्न दिनुस्।'
यमनारायण आफूले जानेजति उपाय लगाएर सम्झाउँछन्। 'तिमी मरे छोराछोरी बाँच्दैनन्' भनेर फकाउँछन्। छोराछोरीको लागी पनि बाँच्नुपर्ने भन्दै आशा देखाउँछन्। त्यति भनिसक्दा वसन्ती निदाइसक्छिन्। त्यसपछि उनी घाँम ताप्न बाहिर निस्कन्छन्।
***
छोराछोरीलाई दशैंमा आउन नसकेको भन्दै कुराकानी गरे उनले। उनीहरु निराश भए। गाउँबाट दशैंमा उनको दशालाई साथ दिन कोही आएन। 'अस्पतालमा के दशैं मनाउनु? दशा लागेको बेलामा,' उनले भने।
विदेशमा भएकाले परिवारसँग दशैं मनाउन पाउदैन थिए उनले। यसपाला नेपालमै छन् तै पनि बज्रपातले गर्दा दशैं आयो कि गयो उनले पत्तै पाएनन्। अरुले टिका लगाएर पीङ खेल्न हिँडिरहेका बेला उनी वसन्तीलाई भनिरहेका छन्, 'यसपाली यस्तै भयो वसन्ती, अर्को साल दशैं मानुम्ला। केटाकेटीलाई नयाँ लुगा किन्दिम्ला। घरमा नै घोर्ले खशी काटुम्ला।'