PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

त्यो दशैं, यो दशैं



विधुर ढकाल

त्यो दशैं, यो दशैं

‘समय बद्लियो, रिती थिति पनि त्यसरी नै बद्लियो। हिजो दशैं कस्तो थियो, आज कस्तो छ?,’ उमेरले चार बीस १३ लागेकी सावित्री उपाध्यायको स्मृतिमा पुराना दशैंका याद ताजा भए।

‘दशैं हिजो रमाइलो, आज भड्किलो,’ उनले भनिन्।

सबैले दशैंको टिका निधारमा थाप्दै छन्। यी ९३ वर्षिया उपाध्यायको सम्झनामा ‘गाइ पैसा’ दक्षिणा थापेको याद अझै छ। अहिले हिजोका गाई पैसा निमिट्यान्नै भएर मासियो। ‘सायद जमाना महँगियो,’ उनले भनिन्।

‘कति दिए होलान् र दक्षिणा?,’ आफैलाई प्रश्न गरिन्, ‘गाई पैसा धेरै पाइयो। १० पैसा पनि कसैले दिए कि?’

पहाडमा पैसा भएर पो के गर्ने, पसल थिएन। किनेर अहिले जस्तो मिठाइ पाइन्थेन। खानेकुरा सबै आफ्नै बारीबाट मिल्ने। ‘बाबु अहिले त बारी नै घर(पसल)मा पसेछ। एउटा कागजको टुक्रो लग्यो किन्यो, त्यतिबेला यसको मोल थिएन। सबै चिज घरमै पाइन्थ्यो,’ उपाध्यायले भनिन्।

दक्षिणा गाई पैसादेखि हजारसम्म

हिजो आफूले गाई पैसा दक्षिणा थापेकी उनले अहिले हजार रुपैयाँसम्म दक्षिणा दिन्छिन्। दक्षिणाको जोहो गर्न वर्षभरी लाग्छ। छोराहरु छैनन्। छोरीसँग बस्छिन्। ‘अब तिनै छोरी ज्वाइँलाई दक्षिणा दिन तिनैसँग माग्ने कुरा पनि भएन,’ उनको आफ्नै मनको प्रश्न, ‘धन्न सरकारले पेन्सन (वृद्ध भत्ता) दिएको छ र दक्षिणाको समस्या छैन।‘

सरकारले दिने वृद्धभत्ता यस्तै चाडपर्वमा दक्षिणा दिन काम लागेको छ। ‘अब खान बस्न दिएकै छन्। आङ ढाकिएकै छ। म बुढीलाई के राम्रो लाउने के नराम्रो लाउने,’ उनले भनिन्, ‘पैसा मलाई किन चाहियो? अस्ती नातिले भत्ता निकालिदियो। दशैंलाई दक्षिणा।’

दक्षिणा वृद्धभत्तासँगै बढ्दै गएको छ। आफूले गाई पैसा दक्षिणा बुझ्ने उनी अहिले दक्षिणा दिने ठाउमा छिन्। गाई पैसादेखि सुका मोहोरसम्म दक्षिणा पाइन्। दक्षिणा दिने बेलामा एक रुपैयाँदेखि दिन थालिन्।

जमना बद्लियो। दक्षिणा पनि बद्लियो। पनाति पनातिनीसम्मलाई दशैंमा आशिर्वाद दिएको उनलाई याद छ - धेरै वर्ष नाति नातिनीहरुलाई एक रुपैयाँ दक्षिणा दिएको।

पहाडदेखि मधेश झरेपछि दक्षिणा पनि बढ्दै गयो। ‘केटाकेटी सानै थिए। दक्षिणा एक रुपैयाँ दिए खुशी हुन्थे। ठूला हुँदै गए दक्षिणा पनि बढ्दै गयो,’ उनले भनिन्, ‘ठूलामात्र होइन पहाडमा जस्तो मधेशमा हुँदो रहेनछ। त्यहाँ किन्ने ठाउँ थिएन, पैसाको महत्त्व थिएन्। यहाँ किन्ने ठाउँ छ पैसाको पनि महत्त्व छ।’

‘बा आमाले टिका लगाएर गाई पैसा दिन्थे। अनि उनीहरुलाई नै राख्न दिन्थेँ। फेरि अर्को दशैंमा त्यही गाई पैसा दक्षिणा आउँथ्यो,’ उनले भनिन्।

अहिले हरेक वर्ष दक्षिणा बढ्दै जान्छ। एक रुपैयाँ दक्षिणा दिने गरेका नातिहरुले ५०० दखि १००० रुपैयाँसम्म दक्षिणा पाउँछन्। उनीसँग आशिर्वाद लिन आउनेहरु सबै चेलीवेटीका सन्तान छन्।

आफ्नो निधार खाली, तर अरुलाई आशिर्वाद दिँदै बित्छ दशैं। ‘अब मलाई के आशिर्वाद चाहियो। अब मेरा सुख सबै उनीहरुलाई नै जाओस्, दु:ख मलाई आओस। म त डाँडा माथिको घाम कति पो बाँच्छु होला र?’ उनले सन्तोषको सास फेरिन्।

एउटा नयाँ लुगाले धेरै दशैं कटे

अहिले हरेक साता लुगा फेरिन्छ। सावित्रीको अनुभवमा यस्ता कति दशैं एउटै लुगाका भरमा टरे। दशैंमा आङमा नयाँ लुगा नभए पनि सफा लुगा चाहिँ हुन्थे।

दशैंका लागि भनेर किनेका लुगा, तिहारमा पनि प्रयोग हुन्थे। तिहार सकिएपछि नयाँ लुगा बाकसमा थन्किन्थे। बीचमा मेला, विवाह, भए ती लुगाले बाहिरी आकाश देख्न पाउँथे नत्र अर्को दशैंमा मात्र निस्किन्थे। यी अनुभव सुनाउँदै गर्दा उनको मुहारमा उज्यालियो। ‘अहिले जस्तो कहाँ वर्षेनी नयाँ लुगा पाउनु? त्यही पनि बाकसबाट निकालेका लुगा हाम्रा लागि बजारदेखि किनेर ल्याएकै जस्ता लाग्थे,’ उनले भनिन्, ‘बाकसबाट निकालिएका लुगा लगाउँदा पनि मन फुरुंग हुन्थ्यो नि।’

मेलापातमै बित्थ्यो दिन। नयाँ लुगा लगाएर जानु पनि कहाँ? एउटा दशैंमा किनेका लुगा तीन चार दशैंमा गुजारे पछि बल्ल नियमित रुपमा बाहिर निस्किन्थे। ‘तीन चार वर्ष त कट्थ्यो होला। अनि अलि पुरानो हुन्थे, तब घरमा काम गर्दा लगाउने लुगा बन्थे,’ उनले भनिन्।

मेला धाइयो, पिङ खेलियो

दशैंमा एक पटक जमिन छाड्नु पर्छ रे। अझ वर्षको एक पटक। त्यसैले दशैंमा पिङ खेल्नु एउटा परम्परा जस्तै हो। तर आजभोलि पिङ हरायो।

‘पिङ नदेखेको नि वर्षौं भयो। हुन त बाहिर ननिस्केर नि होला। तर, पहिलेजस्ता पिङ छैन,’ उनले भनिन्, ‘गाउँमा पिङ हुन्थ्यो। पिङ खेल्नका लागि लाइन लागिन्थ्यो।’

बाग्लुङ को बोर गाउँ। अहिले जैमनी नगरपालिकामा पर्छ। गाउँमा दशैं ताका 'राम' लाग्थ्यो। मेलामा गीत गाउँथे रमाइलो हुन्थ्यो। तर, आजभोलि त्यस्तो रमाइलो हुन्न।

‘पहिला जस्ता गीत पनि छैन। खोइ के हो के हो? मेलाको रुप पनि बद्लियो कि?,’ उनले भनिन्, ‘केही पहिला सम्म पर्वहरुमा लाग्ने मेलामा नातिहरु डोहोराएर पुगे तर मेलाहरु पनि बदलिन लागे। आज भोलि त के हुन्छ खोइ?’

दशैंको सपिङ खस्यौली बजारमा

अहिलेको बुटवल त्यसबेलाको खस्यौली। पुराना लोक गीत हरुमा खस्यौली बजार प्राय सुनिन्छ। बाग्लुङ, स्याङजा, पर्वत, गुल्मी, अर्घाखाँची लगायतका पश्चिमाञ्चलका पहाडी जिल्लाको बजार थियो खस्यौली बजार।

चाडपर्व नजिकिँदै गर्दा घरमा उत्पादन भएको घ्यु बोकेर खस्यौलीमा झर्नेहरुको लर्को हुन्थ्यो। त्यस्तै लर्को दशैं खर्च, वर्षभरीका लागि नुन तेल बोकेर जानेहरु पनि।

दशैंको लागि सामान ल्याउनका लागि साता दिन हिँडेरै खस्यौली झरेको याद सावित्रीलाई। आउँदा टिनमा घ्यू, फर्किँदा नुनको र दशैंका लागि सरसमान बोकेरे फेरि साता दिन लगाएर पुगिन्थ्यो।

अहिले खस्यौली बजार बुटवल बजार भएको छ। खस्यौलीको नाम निसान केही पूराना घरहरुमा छन्। त्यतिबेला हिँड्दै खस्यौली आएकी सावित्रीको २०५० सालमा बसाइ सरेर रुपन्देही झर्दा खस्यौली बुटवलमा परिणत भइसकेको थियो।

अहिले आधुनिक बनेको बुटवलसँग पूरानो दशैंको सम्झना कम छ। केही पूराना अनुहारहरुमा यसको मलिन याद बाँकी होला तर पुरानो पुस्ताको अवसानसँगै हिजोको दशैं स्मरणसमेत धुमिल हुँदै गएको छ। दशैंमा ‘नयाँ’ पन आउँदा विकृत भएको छ। ‘दशैं नयाँ भयो कि हामी पुराना भयौं कि हाम्रा सन्तान नयाँ भए? सबै चिज फेरिएको छ बाबु,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell