
काठमाडौं: प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राती किर्तीपुर नगरपालिका मच्छेगाँउ ४ बाट पक्राउ गरेको हो। कोठा भाडामा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए।
प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटकालागि आवश्यक कागज र नक्कली नोट समेत बरामद गरेको छ। प्रहरीले उनीहरुबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको हो।
प्रहरीले मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ,२५ वर्षीय नारायण श्रेष्ठ, २५ वर्षीय सहिल थापा,२८ वर्षीय राज श्रेष्ठ र २९ वर्षीय विकास दोचेलाई सार्वजनिक गरेको हो।
उनीहरुले अहिलेसम्म पाँच लाख बराबरको नक्कली नोट छापिसकेको एसएसपी लामाले बताए। एसएसपी लामाले भने,'प्रारम्भिक अनुसन्धानमा पाँच लाख रुपैयाँ छापिसकेको देखिएको छ। १ लाख ३० हजार रुपैयाँ भेटिएको छैन।' एसएसपी लामाले नक्कली नोट बजारमा गएकाले कारोबार गर्दा ध्यान दिन समेत अनुरोध गरेका छन्।'यदि कसैसँग शंकास्पद नोट भए प्रहरीकोमा बुझाउनु होला। हामी तपाईहरुलाई सहयोग गर्छौं।'
रेस्टुँरा एण्ड बारमा नक्कली पैसा तिर्दा भेटियो जालो
गत शुक्रवार विकास दोर्चे र उनका साथी चावहिलको चाँदनी रेष्टुरेष्ट एण्ड वारमा गएका थिए। रातभर खाए पिए रमाए। अन्तिमा विल उठ्यो ९ हजार रुपैयाँ। उनीहरुले खल्तिमा भएको पैसा तिरे। तर बार संचालकलाई उनीहरुले दिएको पैसामा शंका लाग्यो। उनले महानगरीय प्रहरी वृत गौशालामा फोन गरे। प्रहरीले तत्काल उनीहरुलाई पक्राउ गरी सोधपूछ थाल्यो। उनीहरुले दिएको पैसा नक्कली भएको खुल्यो।
उनीहरुकै सूचनाका आधारमा प्रहरीले शनिबार मुख्य योजनाकार २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ,२५ वर्षीय नारायण श्रेष्ठ,२५ वर्षीय सहिल थापा,२८ वर्षीय राज श्रेष्ठलाई पक्राउ गर्न सफल भयो।
समातिएका सबैलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
समाचार पढेर नक्कली नोटको कारोबार, यसरी छापिन्थ्यो नक्कली नोट
२७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ नक्कली नोटको मुख्य कारोबारी भएको खुलेको छ। श्रेष्ठ केहि महिना अगाडि मात्र हातहतियार खरखजना मुद्धामा जेल सजाय भुक्तान गरी निस्किएका व्यक्ति हुन्। श्रेष्ठले केही समय अगाडि धरानमा नक्कली नोट सहित एक कारोबारी समातिएको समाचार पढेको र त्यसपछि आफु पनि नक्कली नोट छाप्न लागेको प्रहरीमा बयान दिएको एक प्रहरी अधिकृतल जानकारी दिए।
उनीहरुले कलर प्रिन्टरको सहायताले फोटोकपी गरी नक्कली नोट छाप्ने गरेको खुलेको छ। उनीहरुले बजारमा पाइने गुणस्तरीय पेपरमा नोट छाप्ने गर्थे। एक पटकमा चारवटा नक्कली नोट छाप्ने गरेको एसएसपी लामाले बताए। चारवटा नक्कली नोट छाप्न ३० सेकेन्डदेखि १ मिनेट लाग्छ। ‘ए फोर’ साइजको कागजमा एकैचोटी चारवटा नोटको फोटोकपी गरेपछि सक्कली नोटको साइजमा मिलाएर कटिङ गर्थे। कटिङ गरेपछि नक्कली नोट तयार हुन्थ्यो।
हजारको नक्कली नोटलाई १ लाखको बन्डल बनाएर गोर्खा फाइनान्सको ट्याग लगाएर बजारमा लैजान्थे। 'फाइनान्सको ट्याग लगाएपछि मानिसले नक्कली नोट भएको आशंका नगर्ने भएकाले यस्तो उपाय अपनाएका हुन्।' एसएसपी लामाले भने।
यसरी छापिएको पैसा उनीहरुले होटल रेष्टुराँ, किराना पसल, फुटपाथ पसल र सक्कली पैसामा मिसाएर बजारमा पुर्याउने गरेको खुलेको हो।