PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

दशैंमा दक्षिणा लिदैँनन् खगेन्द्र लामिछाने



रीना मोक्तान

दशैंमा दक्षिणा लिदैँनन् खगेन्द्र लामिछाने

अभिनेता खगेन्द्र लामिछाने १४ वर्षका थिए। दशैंको बेला दुई हातमा सेलरोटीका चुरा लगाएर उनी साथीहरु सँगै दशैंको टीका लगाउन गाउँका ठूलाबडा कहाँ पुग्थे। हुल बाँधेर टीका लगाउन ढोकाबाट छिर्नासाथ उनको ध्यान खिच्यो एउटै दृश्यले-टीका लागइदिने बडाबाको अनुहार।

टीका लगाउन पुगेको हुल देखेर उनको अनुहार केही निन्याउँरो भयो। र टीका लगाइ दिनेको हात सिक्काको पोकोतिर पुग्यो। ‘साथीहरु दक्षिणा कुर्दै थिए। मलाई भने उहाँको अनुहार र हाउभाउ देखेर उहाँसँग पुग्दो पैसा छैन भन्ने लाग्यो’, खगेन्द्र भन्छन्, ’त्यो घटनापछि मैले टीकासँग आशीर्वादमात्र थापें, पैसा थापिनँ।‘

उनले उक्त घटनाले आफूलाई ठूलै पाठ पढाएको बताउँछन्। भने, ‘म मान्छेको एक्सप्रेसन पढ्थें। हामी हुल बाँधेर भुर्र जान्थ्यौं। दक्षिणाको लोभमा। तर सबैसँग त्यत्रो धेरैलाई दिने पैसा कहाँ हुन्थ्यो र?’

सानै उमेरदेखि गम्भीर स्वभावका उनले त्यस घटनापछि दक्षिणा दिनेको आर्थिक अवस्था बारे सोच्न थाले। 



टीका लगाउनेले कसैलाई २ रुपैयाँ दिन्थे त कसैलाई ५ रुपैयाँ। उनी पैसा पाएपछि सोच्थे -यो पैसा कमाउन त्यो एउटा मान्छेलाई कति समय लाग्यो होला?

स्याङ्जाका उनी काठमाडौं आएर संघर्ष गर्न थाल्दा थाहा पाए कति समय लाग्ने रहेछ। पैसाकै कारण उनी तीनवटा वर्षका दशैंमा घर गएनन्।

घरमा बुवा आमा भएको एक्लो छोराको बाटो हेर्थे तर उनी जान सकेनन्।‘दु:ख मान्नु हुन्थ्यो तर कहिलेकाहीँ मान्छेको जीवनमा त्यस्तो समय आउने रहेछ। यस्तो समस्यालाई सजिलै लिनपर्छ’, उनी आफ्नो भोगाई सुनाउँछन्।

दक्षिणा लिन छोडेको सुरुवाती दिनमा उनलाई गार्हो पनि भयो। कसैले कारण सोध्ने, कसैले जिस्क्याउने। मामामाइजुले त दक्षिणा नलिने भान्जालाई टीकाको सट्टा ‘ल स्याउ खाउ’ भन्दै जिस्काउनै थाले। पछिपछि उनैले ‘मलाई फूल दिनुस्, दक्षिणा नदिनुस्’ भन्न थाले।

‘विवाह गरेपछि झन् गाह्रो हुने रहेछ। ससुरालीमा दक्षिणा नलिनुको कारण के भन्नु?’,उनी हाँसे।

दक्षिणा नलिए पनि टीका लगाउनु पर्नेलाई दिन्छन्। भने, ‘मैले लिन्न भन्न मिल्छ तर दिन्न भन्न मिल्दैनरहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell