काठमाडौंः विश्वभरका ३.४ अर्ब जनसंख्या दैनिक आवश्यकता पुरा गर्न कठिन संर्घषबाट गुज्रिरहेको एक अध्ययनले देखाएको छ।
निरपेक्ष गरिबी कम हुँदै मानिसहरुका आर्थिकस्तरमा प्रगति भइरहेको भए पनि कमाई भने निकै कम रहेको विश्व बैंकको अध्ययनले देखाएको हो। सन् १९९० मा ३६ प्रतिशत रहेको गरिबी अहिले उल्लेखनीरुपमा घटेको विश्व बैंकले जनाएको छ।
संसारभर कूल जनसंख्याको २६.२ प्रतिशत १.९० अर्ब मानिस ३.२० डलरभन्दा कम आयमा बाँचिरहेको र संसारकार ४६ प्रतिशत मानिसहरु ५.५० डलरभन्दा कममा बाँचिरहेको विश्व बैंकले आफ्नो प्रतिवदेनमा उलेलेख गरेको छ।
न्यून मध्यम आय भएका मुलुकमा दैनिक ३.२० डलरभन्दा कम आय भएका मानिसहरुलाई गरिबीको रेखामुनी र उच्च मध्यम आय भएका मुलुकहरुमा दैनिक ५.५० डलर आय नभएका मानिसलाई गरिबीको रेखाभन्दा मुनी राखिएको छ।
यद्यपि, विश्व बैंकले सन् २०३० सम्ममा संसारबाट निरपेक्ष गरिबी हटाउने लक्ष्यप्रति आफ्नो प्रतिबद्धता भने जनाएको छ। दैनिक १.९० अमेरिकी डलरभन्दा कम आय भएका मानिसलाई निरपेक्षरुपमा गरिब मानिएको छ।
विश्व बैंकका अनुसार सन् २०१५ मा निरपेक्ष गरिबीको रेखामुनी बाँचिरहेका मानिसहरुको संख्या कूल जनसंख्याको १० प्रतिशत छ। शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा गरिबी उन्मुलनको दर भने अत्यन्तै सुस्त रहेको जनाइएको छ। यद्यपि, संसारका धनी देशहरुमा गरिब नागरिकको ठुलो अनुपात रहेको प्रतिवेदनमा जनाइएको छ।
'सन् २०३० बाट निरपेक्ष गरिबीको अन्त्य र साझा संमृद्धिको वृद्धि नै हाम्रो लक्ष्य हो, हामी यसप्रति प्रतिबद्ध छौँ,' विश्व बैंक समूहका अध्यक्ष जिम योङ किमले भने, 'यही समयमा हामीले विभिन्न तहमा गरिबीबारे वृहत धारणा बनाउन र बहुआयामिक पक्षमा यसलाई लिन सक्ने अवस्थामा पुग्छौँ। यसले गरिबी फैलिएको र मानिसहरुमा लगानीको महत्व पनि अझै व्यापक बनाएको छ।'
दक्षिण एसियाली क्षेत्रमा गरिबी उन्मूलनमा उल्लेखनीय प्रगति भएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रमा सन् १९९० र २०१५ को बिचमा निरपेक्ष गरिबी ३५ प्रतिशतले घटेको विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ।
यद्यपि दैनिक ३.२० डलरभन्दा कम आय भएका मानिसको संख्या ८ प्रतिशतले मात्रै घटेको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रमा मानिसहरु विद्युतीकरण र सरसफाइको समस्याबाट ग्रसित देखिएको पनि विश्व बैंकले जनाएको छ।