काठमाडौं: गत भदौ १० गते महोत्तरी औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी चोरी भयो। छिमेकमा हल्लाखल्ला मच्चियो। परिवार छरछिमेक शिशुको खोजीमा लाग्यो। कतै भेटिइनन्।
हराएको करिब २ घण्टापछि प्रहरीलाई खबर गर्यो।
प्रहरी शिशुको खोजीमा लाग्यो। केही समयपछि औरही ८ स्थित जंगलमा शिशुको शव फेला पर्यो। शिशुको शरीरबाट रगत बगिरहेको थियो। बालक त भेटिइन् तर कसले यस्तो गरायो प्रहरीको लागि टाउको दुखाई बन्यो।
एसपी ईश्वरबाबु कार्कीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रमुख भएर अघिल्लो दिनमात्र जिम्मेवारी सम्हालेका थिए। यस घटनाले एसपी कार्कीलाई पनि तनाव दियो। देशभर बलात्कारका घटना भए पनि अपराधी समाउन नसकेको आरोप प्रहरीमा लागिरहेको थियो। प्रहरीले शिशुको हत्याराको खोजी सुरु गर्यो। केही समयमा नै प्रहरीलाई गतिलो सुराक हात लाग्यो। शिशु चोरी भएको दृश्य नजिकैको सिसी क्यामरामा कैद थियो।
महोत्तरी भङगाहा नगरपालिका ६ बस्ने २६ वर्षीय भरत साह दृश्यमा कैद भएका थिए। प्रहरीलाई एक हदसम्मको तनाव कम भयो। तर भरत कतै भेटिएनन्। चारैतर्फ प्रहरी परिचालन गर्दा पनि भरत उम्कन सफल भएका थिए। अभियुक्त पत्ता लग्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै फेरि प्रहरीको आलोचना भयो।
भरतजस्तै २७ जनामाथि अनुसन्धान
महोत्तरी प्रहरीले आफ्ना सबै सम्बन्धित निकायमा पत्राचार गरी फरार भरत खोज्न निर्देशन दियो। जिल्लाका सबै उखुबारी, जंगल र भरत लुक्न सक्ने सम्भावित क्षेत्रमा प्रहरी पुग्यो। तर कतै पनि भरत देखिएनन्। भारतको सितामढीलगायत क्षेत्रमा पनि पुग्यो प्रहरी। तर हात लाग्यो शून्य।
प्रहरी भरतको फोटो लिएर खोजी गर्दै थियो। विभिन्न ठाउँबाट भरत जस्तै देखेको भन्दै प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएर अनुसन्धान पनि गर्यो। दुई महिनाको अवधिमा २७ जनालाई सोधपुछ गरेको जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्की बताउँछन्। उनी भन्छन्,' हामीलाई अपराधी पक्राउ गर्नुपर्ने चुनौती थियो। धेरै तिरबाट भरतजस्तै देखेको भन्दै फोन आउँथ्यो। भरत जस्तै देखिने व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेका हौँ।' तर यसमघ्ये कोही भरत भने थिएनन्। सबैलाई भरतजस्तै मात्र लागेको रहेछ।
३० हजार पुरस्कार घोषणादेखि डिएनए परीक्षणसम्म
भरत पहिलेदेखि नै समाजमा विवादित व्यक्ति भएको प्रहरीको दाबी छ। मदिरा तथा लागुऔषध सेवन गरेर हिँड्ने गरेको एसपी कार्की बताउँछन्। समय बित्दै गयो, तर भरत पत्ता लागेनन्। प्रहरीलाई दबाब बढ्दै गयो। प्रहरीले भरत समात्न लागुऔषध सेवन गर्नेलाईसमेत परिचालन गर्यो। 'चोरले चोरलाई नै चिन्छ' भन्ने उखान झैँ प्रहरीले जाल फाल्यो। भरत पत्ता लगाउनेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरियो। प्रहरीको यो योजना पनि फेल खायो। कुनै पनि लागुऔषध प्रयोगकर्ताले भरत देखाउन सकेनन्।
प्रहरीका सबै अनुसन्धान फेल भइरहेका थिए। तर प्रहरीले भने आशा मारेको थिएन। लागुऔषधको प्रयोगकर्ता भरतको कतै मृत्यु त भएन भन्ने आशंकासमेत गर्यो प्रहरीले। सर्लाहीमा एउटा सनाखत नभएको शव फेला पर्यो। शवको उचाई भरतको उचाइसँग मिल्न गयो। भरत नै त होइन भनेर डिएनएसमेत परीक्षण गर्यो। तर डिएनए मिलेन। एसपी कार्की भन्छन्,'हामीले भरतलाई समात्न अनेक उपाय अपनाएका थियौं।' देशका विभिन्न जिल्लामा प्रहरीसमेत परिचालन गरेको एसपी कार्कीले बताए।'
दूर्गा पूजा हेर्न आउँदा समातिए
दुई महिनादेखि शिशु हत्या अभियोगमा प्रहरीले खोजी गरिरहेका भरत गत शनिवार पक्राउ परे। साहलाई सुनसरीको भण्टावारीबाट पक्राउ गरिएको एसपी कार्कीले बताए। शिशु हत्या गरी उनी भारत गएको प्रहरीमा बयान दिएका छन्। बयानमा साहले भनेका छन्,'शिशुको हत्या गरेपछि प्रहरी धेरै हिँडेको देखे। डर लाग्यो अनि खेतै खेत भागेर भारतको सितामढी गए।'
भारतको सितामढीमा १५ दिन रेलवेयमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। सितामढीमा पनि प्रहरी पुगेको थाहा पाएपछि साह त्यहाँबाट छोडेर दरवंगा गए। एसपी कार्कीले भने,' सितामढीमा नेपालीहरू भएको देखेपछि चिन्ने डरले ठाउँ फेरि फेरी बस्ने गरेको देखियो।'
दसैँ आएपछि शाहलाई दूर्गा पूजा हेर्ने रहर भयो। उनी भारतबाट नेपाल हानिए। सुनसरी आएपछि केही महिना महोत्तरीमा काम गरेर सुनसरी सरुवा भएका एक प्रहरीले भरतलाई देखे। उनले सहजै चिनेर महोत्तरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोजी गरिरहेका भरत उनै थिए।
साहले बलात्कारपछि हत्या गरेको स्विकार गरेको एसपी कार्कीले बताए। 'रक्सी खाएर शिशुको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेको छ,' एसपी कार्कीले भने।