सिसा फुटे टुक्रा हुन्छ
धर्ती फाटे खाडल
भगवान छुटे पागल हुन्छ
भक्ति छुटे घायल
निर्मलाले यो रचना कहिले रचेकी हुन् आमा दुर्गा पन्तलाई थाहा छैन। तर, त्यही रचना भएको डायरीको पछिल्लो पानाको दायाँपट्टी सिरानमा निर्मला ७ कक्षामा पढ्दाको तस्विर छ। आमा दुर्गालाई यो उनले त्यसै बेला रचेकी हुन् भन्ने लागेको छ। उनकी दिदी, बहिनी कसैलाई पनि रचना कहिलेको हो थाहा छैन।
निर्मला जीवित छँदासम्म पराई जस्तै बनेका ती रचनाहरू अहिले भने आमालाई सबैभन्दा प्रिय लाग्छन्। निर्मलाको हत्या भएपछि उनका सरसामान उत्खनन् गर्दा भेटिएको त्यो डायरी उनकी आमालाई गुमाउन मन लागेन र सुरक्षित राखिन्। छोरी भने पनि डायरी भने पनि निर्मलाको सम्झना मेटाउन उनीसँग त्यही एक भौतिक बस्तुमात्रै बाँकी छ।
सोही डायरीको त्यसै पानामा उनले केही भावनाहरु पोखेकी छिन्।
‘विद्यालय एउटा मन्दिर हो
किताब मेरो भगवान हो
पढ्ने मेरो काम हो
जसले भगवानको सायरी लेखेको छ
उसको नाम निर्मला हो’
फूल भए फुली दिन्थेँ
तर काँडा पो परेछु
धनी भए उपहार दिन्थेँ
गरिब पो परेछु”
‘छोरीलाई सुम्सुम्याउन मन लागेमा यिनै अक्षर सुम्सुम्याउँछु। चित्त बुझाउन नसकेरै चित्त बुझाउँछु।’ आँसुसँगै पोखियो उनको मुखबाट आवाज।
कविता मात्र हैन निर्मलाले केही चित्र पनि कोरेकी रहिछन्।
‘उसले कोरेर गएका यी चित्रहरू पनि छन्।’ एक हातले आँसु पुछ्दै अर्को हातले भित्तातिर देखाउँदै उनकी आमाले भनिन्, ‘छोरीको यादले गलेको मन कसरी बुझाउनु कुनै उपाय नै छैन।’
यति भनेपछि उनलाई थप प्रश्न गर्ने आँट म सँग पनि थिएन।
तर, केहीबेर रोकिएर उनले आफैँ भनिन् ‘अदृश्य यादहरु त कति आउँछन्–जान्छन्। अब ती यादहरूलाई बिर्साउने बाटो यही हो जस्तो लाग्छ। यी अक्षरहरू देख्ने बित्तिकै पनि यादको बाटो कहाँ अवरुद्ध हुन्थ्यो र?’
सान्त्वनाको भूमिकामा रहेका यी रचना आफ्नै आँखाले हेर्दा उनलाई घरीघरी रुवाउँछ।
उनीसँग छोरीको फोटो पनि थिएन। फोटो खिच्ने मोबाइल पनि थिएन। हत्यापछि अरूले फोटो प्रिन्ट गरेर ल्याइदिए। निर्मलाको कोठामा उनी आफैले राखेका भगवानका फोटा छन्। तीनै फोटाको बिचमा उनकी आमाले र दिदी बहिनीले अरूले ल्याइदिएका निर्मलाका दुई वटा फोटा पनि राखेका छन्।
उनका स्केच, डायरीको पानामा लेखिएका रचनाले निर्मलाको याद मेटाउन सजिलो होस् भनेर भित्तामा सजाएर राखेको उनकी आमाले भनिन्। उनकी जेठी दिदी मनीषाले पनि बहिनीको याद आउँदा ती तस्विर, स्केच र रचना हेरेर चित्त बुझाउने गरेको बताइन्।
बहिनीहरुमा रचनात्मक र मिजासिली थिइन् निर्मला
निर्मलाका तीनै दिदी–बहिनी घर नजिकैको सरस्वती माध्यमिक विद्यालयमा पढ्थे। विद्यालयका अतिरिक्त क्रियाकलापमा निर्मलाको चासो थियो।
‘कक्षामा स्केचमा चासो राख्ने एक्ली थिइन’ दिदी मनीषाले भनिन्, ‘घरमा पनि मलाई स्केच आउँदैन, बहिनीलाई पनि आउँदैन सरले पनि सिकाएनन् तर, उसले आफैं सिकेकी हो।’
भगवानप्रतिको आस्था, समाजमा आफन्तसँगको सभ्यता पनि आमाको नजरमा निर्मलाको नै बढी थियो। ‘जो पनि त्यसलाई नै मन पराउँथे। माइत गए पनि, यतै भए पनि’ आमा दुर्गाले भनिन्।
एक्लिएको साइकल
निर्मलाकी आमाले तीन छोरीका लागि दुई वटा साइकल किनिदिएकी थिइन्। निर्मलाको हत्या भएसँगै उनकी जेठी दिदीले चढ्ने साइकल पनि एक्लिएको छ।
निर्मला र उनकी बहिनी सरस्वती एउटा साइकल चढ्थे। मनीषा अर्को साइकल चढ्थिन। अहिले भने मनीषाको साइकलमात्रै घरमा छ। निर्मलाको साइकल प्रहरी कहाँ रहेको उनकी आमाले बताइन्।