PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

१७ महिनादेखि बन्द रुकुमको चौरजहारी विमानस्थलमा पुनः उडान सुरु हुँदै



पहिलोपोस्ट

१७ महिनादेखि बन्द रुकुमको चौरजहारी विमानस्थलमा पुनः उडान सुरु हुँदै

मुसिकोटः रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा सुरु हुने भएको छ। १७ महिनादेखि रोकिएको उडान सेवा बुधबारदेखि सुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए।

उनका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गर्ने बताइएको छ। हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा सुरु हुन लागेको हो।

लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ।

यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो। बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल चाल्दै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell