PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गहुँ छर्ने समयमा सुदूर पश्चिमका किसानहरु मल अभावको चपेटामा



एम बम

गहुँ छर्ने समयमा सुदूर पश्चिमका किसानहरु मल अभावको चपेटामा

कैलाली: धान बाली भित्र्याएर गहुँ, तोरी, मसुरो, आलुलगायत हिउँदे बाली लगाउने समय हो यो। त्यसको तयारीमा किसान जुटिसकेका छन्।

तर, खेतको खनजोत गर्ने समयमा सुदूर पश्चिमको तराइ क्षेत्रका किसानहरु भने झोला र कट्टा बोकेर रसायनिक मल लिन वितरण केन्द्रसम्म धाइरहेका छन्। त्यहाँसम्म पुगेर पनि रित्तो हात घर फर्कनु उनिहरुको दैनिकी बनेको छ। 

सरकारले मल र बिउबिजन वितरणमा चासो नदिँदा किसानहरु बर्षेनी समस्यामा पर्ने गरेको कैलालीको मसुरीयाबाट मल लिन धनगढी आइपुगेकी यम कुमारी ढकालले गुनासो गरिन्। ‘पटक पटक धनगढी आउँदा पनि मल पाइदैन किसानहरुले कहिले खेती बाली लगाउने, कहिले अन्न उब्जाएर खाने?’ उनले प्रश्न गरिन्। 

गोदावरी नगरपालिका वडा नम्बर ९ बाट मलकै लागि धनगढी आइपुगेका विवेक रानाको गुनासो पनि उस्तै छ। हिउँदे बाली लगाउन पर्याप्त मात्रामा मल नपाइएपछि पटक पटक धनगढी धाउनु परेको उनले बताए।

यो समस्या कैलालीमा मात्रै नभएर तराइकै अर्को जिल्ला कंचनपुर र पहाडी जिल्लाहरुमा पनि छ। अन्य जिल्लाहरुमा दुइवटै निकायले मल आपूर्ती गर्न सकेका छैनन्। 

सुदूर पश्चिम प्रदेशका लागि ७० प्रतिशत मल आपुर्तीको जिम्मा कृषि सामग्री कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले पाएको छ भने ३० प्रतिशत मलको आपुर्ती गर्ने जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले पाएको छ। 

तर अहिले कृषि सामग्री कम्पनी लिमिटेडसँग १ सय टन डिएपी १ सय ४३ टन यूरीया र १ सय २४ टन पोटास मात्रै मौज्दात रहेको छ। जुन एक दिनलाई वितरण गर्न पुग्ने मौज्दात हो। थप मलका लागि माग गरिएको र माग अनुसारको मल आएमा अब अभाव नहुने कार्यालयका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले बताए। 

तर ३० प्रतिशत मलको आपुर्ती गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङमा भने दिपावली अगाडी डिएपी आउने सुरसार नरहेको कार्यालयका क्षेत्रीय प्रबन्धक केशवप्रसाद पाडेण्ले जानकारी दिए। 

गहुँ खेतीका लागि सुदूरपश्चिम प्रदेशमा झण्डै ३ हजार ५ सय मेट्रीक टन डिएपी र ७ हजार मेट्रीक टन यूरिया आवश्यक पर्दछ। मलकोे अभाव सिर्जना हुँदा यस वर्ष गहुँको उत्पादन पनि घट्ने चिन्ता किसानहरुको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell