
काठमाडौंः नेपाली सेनाले सञ्चालन गर्दै आएको दुई वटा तालिमलाई संयुक्त राष्ट्र संघले शान्ति स्थापना कार्यका लागि मान्यता प्रदान गरेको छ।
नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रदान गरिएको राष्ट्र संघीय स्टाफ अफिसर कोर्स र आकस्मिक पूर्व तैनाथी तालिम (कन्टिन्जेन्ट प्री–डिप्लोयमेन्ट ट्रेनिङ)लाई चार वर्षको लागि मन्यता प्रदान गरेको हो।
संयुक्त राष्ट्र संघको पिस किपिङ अप्रेसनले यी तालिमलाई संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ प्री डिप्लोयमेन्ट ट्रेनिङको स्टान्डर्ड अनुरूप रहेको भन्दै मान्यता दिएको हो।
राष्ट्र संघका शान्ति स्थापना सम्बन्धी उपमहासचिवले हस्ताक्षर गरेको प्रमाणपत्र नेपाललाई प्रदान गरिएको राष्ट्र संघस्थित नेपाली नियोगले जनाएको छ।
नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा काभ्रे की मैना सुनुवारको बलात्कार पछि हत्या भएपछि आलोचित बनेको थियो। साथै यहाँका सैनिक अधिकारीलाई अमेरिकालगायतका देशले प्रवेशाज्ञामा प्रतिबन्ध लगाएका थिए। अमेरिकाले यसै वर्ष नेपाली तालिम केन्द्र माथि लगाएको भेटिङ फुकुवा गरेको थियो।
राष्ट्र संघले प्रदान गरेको मान्यता यही अक्टोबर ३१ देखि २०२२ अक्टोबर ३० सम्म लागु हुने छ।