काठमाडौँ: केही सातादेखि राजधानीमा नक्कली नेपाली नोटको बिगबिगी छ। प्रहरीले बजारमा भएका नक्कली नोट खोजी गरिरहेको छ। केही दिन अगाडि मात्र प्रहरीले नक्कली नोटको कारोबार गर्ने पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
नक्कली नोटका मुख्य कारोबारी इन्द्रबहादुर श्रेष्ठले पाँच लाख बराबरको नक्कली नोट छापेको दाबी गरिरहेका छन्। तर प्रहरीले ३ लाख ८० हजार रुपैयाँका नक्कली नोट बरामद गरेपनि अरू नोट कहाँ छन् भन्ने फेला पार्न सकेको छैन। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामा भन्छन्,'बाँकी नोट बजारमा गएको हुनसक्ने देखिएको छ। हामी खोजी गरिरहेका छौँ।'
रङ्ग लगाएको पारिश्रमिक नक्कली नोट
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मङ्गलबार काठमाडौंबाट थप तीनवटा एक हजार दरका नक्कली नोट फेला पारेको छ। नक्कली नोट छाप्ने योजनाकार इन्द्रबहादुर श्रेष्ठले ३० हजारको नक्कली नोट एक व्यक्तिलाई राख्न दिएको बताएका थिए। श्रेष्ठले त्यो रकम भने मीत भान्जा २५ वर्षी सहिल थापा मगरलाई दिएको खुलेको छ। थापा पनि अहिले प्रहरी हिरासतमा नै छन्। प्रहरीले गत शनिबार उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
हिरासतमा रहेका सहिल थापा ठेकेदार हुन्। उनी जग्गा तथा घरको ठेक्कापट्टा गर्दै आएका छन्। तर मामा इन्द्रले भान्जा सहिललाई ३० हजारको नक्कली नोट नदिएर १५ हजार मात्र दिएको प्रहरी अनुसन्धानमा देखिएको छ। मामाले दिएको १५ हजार रुपैयाँ आफूले घरमा रङ्ग लगाउने मजदुरलाई दिएको सहिलले प्रहरीलाई बताएका थिए।
परिसरको टोलीले घरमामा रङ्ग लगाउने एक युवकलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अनुसन्धानमा ती युवकले आफूलाई नक्कली नोट भएको थाहा नपाएको बताएका थिए। उनले १५ हजार रुपैयाँ सामान खरिद गर्ने, मदिरा सेवन गर्दा खर्च गरिसकेको बताएका थिए। मङ्गलबार युवकले खर्च गरेको पसलमा प्रहरीले गएर सोधपुछ गर्दा ३ वटा मात्र नक्कली नोट फेला पारेको हो।
एसएसपी लामाले भने,' रङ्ग लगाएको रकम नक्कली दिएको देखियो। युवकलाई सामान्य सोधपुछ गरेर छोडेका छौँ। १५ हजारमध्ये १२ हजार नक्कली नोट बजारमा गएको छ। कसैलाई नोट शङ्का लागे प्रहरीलाई खबर गर्नुहोला।'
कसरी छुट्ट्याउने नक्कली नोट
छापिएको नक्कली नोट कारोबारीले होटेल रेस्टुरेन्ट, किराना पसल, फुटपाथ पसल र सक्कली पैसामा मिसाएर बजारमा पुर्याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
विभिन्न माध्यमबाट ती पैसा तपाईँको खल्तीसम्म आइपुगेको हुन सक्छ। नोटको कारोबार गर्दा सहजका हुन प्रहरीको अनुरोध छ। नक्कली र सक्कली नोट विभिन्न तरिकाबाट छुट्ट्याउन सकिन्छ। छामेर, उज्यालोमा हेर्दा, नोट हल्लाउँदा, यूभिलाईटले हेर्दा नोट छुट्टिन्छ।
छाम्दा सक्कली नोट खस्रो तथा दह्रो अनुभव हुन्छ। नक्कली नोट भने चिल्लो तर लुलो हुन्छ। सक्कली नोटमा विभिन्न भाग उठेको हुन्छ। नक्कलीमा यस्तो हुँदैन। उज्यालोमा हेर्दा सक्कली नोटमा लालीगुराँसको पानी छाप र सुरक्षा धागो स्पष्ट देखिन्छ। नक्कलीमा कुनै पनि लालीगुराँसको छाप अस्पष्ट, धमिलो वा हुँदैन। सक्कली नोट हल्लाउँदा तिखो आवाज आउँछ। नक्कलीमा आवाज हल्कामात्र आउँछ। यूभिलाईटले नोट हेर्दा सक्कली नोट सामान्य देखिन्छ भने नक्कली नोट उज्यालो देखिन्छ।
नक्कली नोट बनाएको प्रमाणित भएमा मुलुकी अपराध संहिता अनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।