काठमाडौँ: १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार-हत्या काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको स्पष्टीकरण सहितको पत्र गृह मन्त्रालयमा पुगेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उतमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने,'स्पष्टीकरण सहितको पत्र आज हामीले मन्त्रालयमा पुर्याइसकेका छौँ।'
एआइजी धिरु बस्न्यातको नेतृत्वमा गठित समितिले घटनाको अनुसन्धान बुझाएको रिपोर्टअनुसार प्रहरी प्रधान कार्यालयले दशैं बिदा अगाडि नै गृह मन्त्रालयलाई विष्ट र भट्टको बर्खास्तको लागि पत्र लेखेको थियो। गृह सचिव नेतृत्व समितिले दुई पटक सम्म २४ घन्टे स्पष्टीकरण सोध्नुपर्छ।
प्रहरी निरीक्षक भट्टले सोमवार प्रहरी प्रधान कार्यालयकव स्पष्टीकरण पत्र बुझेर मङ्गलवार नै स्पष्टीकरण दिएका थिए। तर एसपी विष्टले भने समय नभएको भन्दै मङ्गलवार मात्र स्पष्टीकरण पत्र बुझेका हुन्। पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने नियम अनुसार एसपी विष्टले बुधवार बिहान स्पष्टीकरण दिएका थिए।
स्पष्टीकरण चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ।
गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो। प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शङ्कास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।
निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्ट कारबाहीमा परेका हुन्।
प्रहरी नियमावलीमा आफ्नो पदीय जिम्मेवारी पुरा नगरेमा, आचरण सम्बन्धी कुरा बारम्बार उल्लङ्घन गरेमा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न मिल्ने व्यवस्था छ।