PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान वितरण



पहिलोपोस्ट

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान वितरण

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वर्ष २०७४ का लागि पद्मश्री साधना सम्मान र पद्मश्री पुरस्कार वितरण गरेको छ। प्रतिष्ठानले कोजाग्रत पूर्णिमाको अवसर पारेर बुधबार रसियन कल्चर सेन्टरमा कार्यक्रम आयोजना गरेको हो।

पद्मश्री साधना सम्मान साहित्यकार डाक्टर तारानाथ शर्मालाई प्रदान गरियो। त्‍यस्तै पद्मश्री साहित्य पुरस्कार संस्मरणात्मक कृति ‘यार’का लागि साहित्यकार नयनराज पाण्डेलाई प्रदान गरेको हो। कार्यक्रममा दुवै श्रष्टालाई खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानकोतर्फबाट अध्यक्ष जीवा लामिछानेले नगद पुरस्कार दुई- दुई लाख रुपैयाँ हस्तान्तरण गरे। 

कार्यक्रममा साहित्यकार शर्माले सम्मानले आफ्नो आलस्यता भगाएर उर्जा दिएको बताए। भने,’यस्तो उत्साह प्रदान गर्ने र स्नेह दिने सम्मान पाउँदा मेरा सारा थकाइहरु मेटिए।‘ शर्मा झर्रोवादी आन्दोलनका प्रणेता हुन्। उनले २०२६ मा मदन पुरस्कार, २०३९ मा साझा पुरस्कार, २०२३ मा रत्नश्री स्वर्णपदक लगायत पुरस्कारहरु प्राप्त गरेका छन्। लेखनमा अझै सक्रिय उनलाई नेपाली साहित्यको श्रीवृद्धान योगदान पुर्‍याएका कारण सम्मान गरेको प्रतिष्ठानले जनाएको छ। 

त्यस्तै लेखक नयनराज पाण्डेले प्राप्त पुरस्कार आफ्नो बायो डाटामा मात्र नभएर आफूलाई र आफ्नो लेखनीलाई काम लाग्ने बताए। उनले भने,’पुरस्कार लिइरहँदा मेरो शरीर एकछिनलाई निहुरियो होला। तर मैले मेरो आत्मसम्मान उँचो भएको महसुस गरेको छु।‘

उनले यारमा लेखिएका  मित्रता र सम्बन्धका कुराहरुमार्फत समाजले आफूसँग र आफूले समाजसँग गरेका गुनासा र प्रश्नहरुलाई पुरस्कृत गरेकोमा आभार व्यक्त गरे। यारमा २५ वटा संस्मरण छन्। जसले मित्र, शत्रु, मिलन र विछोडका कथा भन्छन्। 

पुरस्कार वितरण कार्यक्रममा जीवा लामीछानेले सबै सिर्जना र स्रष्टाप्रति प्रतिष्ठानको उस्तै सम्मान रहेको बताए। प्रतिष्ठानले २०६२ सालदेखि पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि पद्मश्री साधना सम्मान दिंदै आएको छ। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell