काठमाडौँः उपत्यकाका चार स्थानमा ‘ओभरहेड व्रिज’ बन्ने भएका छन्। सडक विभाग अन्तर्गतको पुल महाशाखाले सर्वोच्च अदालत अगाडि, बबरमहल, बानेश्वर चोक, कोटेश्वर चोकमा ओभरहेड व्रिज निर्माण गर्न लागेको हो।
यसका लागि डिजाइनको काम फाइनल गर्न लागिएको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। थापाका अनुसार केही दिनभित्रै डिजाइन फाइनल गरेर टेन्डर निकाल्ने तयारी भइरहेको छ।
‘डिजाइन फाइनल हुने अवस्थामा छ। हामीले ड्रइङ डिजाइन दिएर डिभिजन सडक कार्यालयलार्इ टेन्डर निकाल्न पत्र पठाउँछौँ। त्यहीँबाट बाँकी काम हुन्छ’ उनले भने।
डिभिजन सडक कार्यालय काठमाडौँमार्फत् यी चार वटा ओभरहेड व्रिज निर्माण हुनेछन्।
थापाका अनुसार केही दिनभित्रै डिभिजन सडक कार्यालयलार्इ पत्राचार गरिएपछि तुरुन्तै टेन्डर निकालिनेछ। ६ महिनामा ओभरहेड व्रिज सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ओभरहेड व्रिजको भर्याङ जतिको भाग आरसीसी ढलानको हुनेछ भने क्रसिङ फलामको हुनेछ। व्रिज ३ मिटर चौडार्इको हुने महाशाखाले जनाएको छ। एउटा ओभरहेड व्रिज निर्माण गर्नका लागि ४० देखि ५० लाख रुपैयाँ लाग्नेछ।
महाशाखाका अनुसार उपत्यकाका ३५ भन्दा बढी स्थानमा ओभरहेड व्रिजको मागसहितको निवेदन परेको थियो। ती सबै मध्येबाट चार ठाउँमा सबैभन्दा धेरै पैदल यात्रुको चहलपहल हुने तथा संवेदनशील ठाउहरु हेरेर निर्माण गर्न लागिएको हो।
बबरमहल काठमाडौँको संवेलदनशील क्षेत्र मानिन्छ। यो क्षेत्रमा ६ लेनको अरनिको राजमार्ग भएकाले गाडीहरू तीव्र गतिमा आउने गरेका कारण यात्रुहरुलार्इ बाटो काट्न कठिन हुने गरेको छ। बानेश्वर चोकमा चार तिरको बाटो जोडिने भएकाले पैदल यात्रुको चाप हुने गरेको छ। पैदल यात्रुकै कारण जाम समेत हुने गरेको छ।
कोटेश्वरचोकमा पूर्व जाने सवारीसाधन तथा चक्रपथ हुँदै आउने सवारीसाधनहरू गुड्ने भएकाले बाटो काट्न कठिन हुने अवस्था छ। यहाँ पनि पैदल यात्रुको चाप अत्यन्त बढी छ।
पैदल यात्रुको सहजताका लागि ओभरहेड व्रिज निर्माण गर्न लागिएको हो। ओभरहेड बनेपछि यी क्षेत्रमा जाम कम हुने तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा पुल महाशाखाको छ।