
स्पानिस क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमण्डले युरोपियन च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हात पारेको छ।
कप्तान लियोनल मेसीबिना पनि बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २-० ले हरायो। ला लिगामा सेभियासांग खेल्दा हात भाचिएका मेसीले दर्शक बनेर खेल हेरेका थिए। डर्टमण्डले स्पानिस क्लब एट्लेटिको मड्रिडलाई ४-० ले पराजित गर्यो।
यस्तै इंग्लिस क्लब लिभरपुलले सर्वियन क्लब जेज्दालाई ४-० ले नै पराजित गर्दै दोस्रो जित हासिल गरेको छ।
फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब नेपोलीले भने २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
समूह बी अन्तर्गत घरेलु मैदानमा बार्सिलोनालाई जिताउन रफिन्नाले पहिलो हाफमा र जोर्दि अल्वाले दोस्रो हाफमा गोल गरे। लगातार तीन जितपछि बार्सिलोना ९ अंकका साथ शीर्ष स्थानमा छ। समूहमा पहिलो हार बेहोरेको इन्टरको ६ अंक छ।
यसै समूहको अर्को खेलमा डच क्लब पीएजभी आइन्होभन र इंग्लिस क्लब टोटनहमले २-२ गोलको बराबरी खेल्दै १/१ अंङ्क जोडे। दुवैको लागि यो पहिलो अंक हो।
घरेलु मैदानमा एट्लेटिको विरुद्ध शानदार जित दिलाउन डर्टमण्डका लागि राफेल गुरेइराको दुई गोल गरे। यस्तै एलेक्स विट्सल र जोर्डन सान्चोले एक-एक गोल गरे। लगातार तेस्रो जितपछि डर्टमण्ड समूह ए को शीर्ष स्थानमा छ। पहिलो हारपछि ६ अंक रहेको एट्लेटिको दोस्रोमा छ। यसै समूहको अर्को खेलमा मोनाको र क्लब ब्रुगले १-१ को बराबरी खेल्दै पहिलो अंक जोडेका छन्।
यसैगरी लिभरपुलले जेज्दालाई ४-० ले हराउँदा मोहमद सलाहले दुई गोल गरेर रोवर्टो फिर्मिनो र साडियो मानेले एक-एक गोल गरे। मानेले पेनाल्टी चुकाएका थिए। दोस्रो जितपछि तीन खेलबाट ६ अंक रहेको लिभरपुल समूह सी को शीर्ष स्थानमा उक्लेको छ। पीएसजीसँग अंक बाँडेको नेपोली ५ अंकसहित दोस्रो स्थानमा छ। ४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ।
समूह डी मा अपराजित रहेको पोर्टोले लोकोमोतिभ मस्कोलाई ३-१ ले पराजित गरेको छ। जितपछि पोर्टो ७ अंकसहित शीर्ष स्थानमा छ। अपराजित यात्रा कायम राख्ने क्रममा जर्मन क्लब साल्केले टर्कीस क्लब गालातासारेसँग गोलरहित बराबरी खेलेको छ।