PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले आयोजना गर्‍यो नेपालमा 'कभर सङ कम्पिटिसन'



पहिलोपोस्ट

हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले आयोजना गर्‍यो नेपालमा 'कभर सङ कम्पिटिसन'

काठमाडौंः हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपालमा कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ। वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको स्पर्धामा भाग लिन चाहनेले बेलायती रक ब्यान्ड ‘क्वीन’को कुनै एक गीतमाथि कभर गीत निर्माण गर्नुपर्नेछ।

ब्यान्डका लिड भोकलिस्ट फ्रेडी मर्क्युरीमाथि बनेको बायोपिक म्युजिकल फिल्म कात्तिक १६ गतेदेखि नेपाल प्रदर्शनमा आउनेछ। विजेताले कुनै एक नेपाली लोकप्रिय ब्यान्डसँग मिलेर पर्पल हेज ठमेल, टंगालउड नक्साल, मोक्ष झम्सिखेल र क्लब फरेनहाइट ठमेलमा कन्सर्ट प्रस्तुत गर्न पाउनेछन्। मोक्षमा शनिबार बेलुका कन्सर्ट पनि हुँदैछ ।

फिल्मको शीर्षक मर्क्युरीले सन् १९७५ मा लेखेको हिट गीत ‘अ नाइट एट् द ओपेरा’मा समावेश छ। युकेको चार्ट–बस्टरमा यस गीतलाई अहिलेसम्मकै तेस्रो सर्वाधिक बेस्ट–सेलिङ गीतको रुपमा लिइन्छ।

कभर गीतलाई जुरी मतको आधारमा उत्कृष्ट घोषित गरिने एप्पल इन्टरटेनमेन्टले जनाएको छ। एक मिनेट लामो भिडियोलाई विजेताले आफ्नो फेसबुक पृष्ठमा पोस्ट गर्नुपर्नेछ।

पहिलोपटक हलिउड फिल्म  प्रवर्द्धनका लागि यस्तो अभियान थालिएको एप्पलले जनाएको छ। ब्रायन सिंगर निर्देशित फिल्मले ‘क्वीन’ गायक मर्क्युरीको जीवन र सन् १९८५ मा बेलायतको वेम्वली स्टेडियममा उनले प्रस्तुत गरेको लाइभ–एड प्रस्तुतिको कथा भन्छ । मर्क्युरीको भूमिकामा हलिउडमा क्रिटिक्स र गोल्डेन ग्लोब अवार्ड जितेका रमी मलिकले अभिनय गरेका छन्।

फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरण गर्न लागेको हो। एप्पल क्वेस्ट इन्टरटेनमेन्टअन्तर्गत मल्टिप्लेक्स चेन क्यूएफएक्सको अन्तराष्ट्रिय फिल्म वितरण कम्पनी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell