
मोरङको लेटाङ्ग नगरपालिकामा विहीबारबाट ३ दिने आवासीय महिला सशक्तिकरण कार्यशाला सुरु भएको छ। युथ नेटवर्क र डब्लुआरआरसँगको सहकार्यमा झापा दमकका युवतीहरुले ‘परिवर्तनका निम्ति महिला सशक्तिकरण’ कार्याशाला आयोजना गरेका हुन्।
देशका विभिन्न क्षेत्रबाट किशोरी तथा महिलाका लागि आवेदन खुला गरिएको कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समूहका ३० जना सहभागी रहेका छन्। तीन दिनसम्म सबै एक ठाउँमा रही सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासहरु गर्नेछन्।
मोफसलमा पहिलो पटक महिला सशक्तिकरणका लागि ३ दिने आवाशीय कार्यशालाको तयारी थालिएको छ।
आयोजक संस्थाकातर्फबाट भूमिका शर्माले महिलाको क्षमता, नेतृत्व विकास र महिला माथि हुने विभेद, हिंसा कम गर्न कार्यक्रम आयोजना गरेको बताइन्। भनिन्,’कार्यशालाले सचेतना त बढाउने छ नै। साथै हामीले आत्मसुरक्षाको अभ्यास पनि गराउने छौं।‘
लेटाङ्गको क्षेत्रीय तालिम केन्द्रमा कार्यशालामा सुरु भयो। महिलाको शरीर तथा मनोविज्ञान, समाज–राजनीति र महिला, नारीवाद र यसका आयामहरु, महिला सम्बन्धी कानुनी प्रावाधान, मिडिया प्रभाव तथा सामाजिक संजाल सुरक्षा, व्यवहारिक रुपान्तरण र दुर्व्यवहारका विरुद्ध शारीरिक प्रतिरक्षा लगायतका विषयमा तालिम तथा अभ्यास गराइने कार्यतालिका रहेको छ।
कार्यशालालाई आहुती, डाक्टर अमिना सिंह, मानुषि यमु भट्टराई, आकांक्षा कार्की, लक्ष्मी खनाल, गुञ्जन दिक्षित, मिना राई र पिंकी राजवंशीले सहजिकरण गर्ने बताइएको छ।