PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरकारले लागू गर्‍यो तीन लाइनको नयाँ नम्बर प्लेट, पुरानो नम्बर प्लेट भएकाले के गर्ने?



दिनेश खड्का

सरकारले लागू गर्‍यो तीन लाइनको नयाँ नम्बर प्लेट, पुरानो नम्बर प्लेट भएकाले के गर्ने?

काठमाडौँ : सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्बन्धी पुरानो व्यवस्थालाई हेरफेर गरेको हो। 

असोज १६ गते बागमती अञ्चलस्थित यातायात व्यवस्था कार्यालयले मोटरसाइकल दर्तामा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेको भन्दै दर्ता रोकेको थियो।

यही कानुनी अड्चन फुकाउन मन्त्रालयले नयाँ व्यवस्थासहितको सूचना आज राजपत्रमा प्रकाशित गरेको हो। 

के परिवर्तन हुन्छ नयाँ नम्बर प्लेटमा?

पुरानो नम्बर प्लेटमा अञ्चल संकेत, लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत उल्लेख हुने गरी दुई लाइनको दर्ता नम्बर हुन्थ्यो। अहिले भने तीन लाइनमा दर्ता नम्बर हुनेछ। 

पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ। 

दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत हुनेछ। 

तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख हुनेछ। 

दुई पाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि पट्टीको नम्बर प्लेट दुई लाइनमा र पछाडिको तीन लाइन हुनेछ। दुई लाइनमा हुने नम्बर प्लेटको पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ भने दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत तथा दर्ता नम्बर पनि उल्लेख हुनेछ। 

हाल दुई पाङ्ग्रेको अगाडि एक लाइन र पछाडि दुई लाइन नम्बर प्लेट रहेको छ।  

नयाँ नम्बर प्लेट कहाँ र केमा लागू हुने?

राजपत्रमा प्रकाशित सूचना अनुसार सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को अनुसूची ६ का खण्ड कदेखि ङसम्म परिवर्तन गरिएको उल्लेख भएकोले नयाँ नम्बर प्लेट मोटरसाइकलमा मात्र नभई सबै सवारी साधनहरुमा लागू हुनेछ। 

यी खण्डहरुमा भएका अञ्चल संकेतलाई प्रदेश संकेत र प्रदेशमा रहेका कार्यालयको संकेतमा परिवर्तन गरिएको छ। 

अनुसूची ६ को द्रष्टव्य ३ मा पनि परिवर्तन भएको छ। यसमा नम्बर प्लेट दुई लाइन र तीन लाइनमा हुने व्यवस्था गरिएको छ। साथै सवारी समूह जनाउने (लट) अङ्क आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुने व्यवस्था गरिएको छ। यसअघि यो अङ्क १ देखि ९९ सम्म मात्रै राखिएको थियो। 

यो व्यवस्था सबै प्रदेशमा लागू हुनेछ। नामाकरण भएका प्रदेशमा प्रदेशको पूरा नाम र हुन बाँकी प्रदेशमा प्रदेश नम्बरमात्र रहनेछ। नामाकरण हुन बाँकी प्रदेशको नामाकरणपछि सोही अनुसार नम्बर प्लेटमा नाम राखी परिवर्तन गर्नुपर्नेछ। 

प्रदेश ३ मा मोटरसाइकलमा काम गर्ने एउटा मात्रै कार्यालय रहेको छ। यातायात व्यवस्था विभागले एउटा मात्रै कार्यालय रहेको ०१ कोड दिएको छ। प्रदेश २ मा यातयात व्यवस्था कार्यालय तीनवटा रहेका छन्- वीरगंज, जनकपुर र लाहान। यसको हकमा प्रत्येक कार्यालयलार्इ ०१,०२ र ०३  कोड हुनेछन्।

पुरानो नम्बर प्लेट के हुने?

राजपत्रको सूचनामा नयाँ दर्ताका लागि मात्र नभई पुराना नम्बर प्लेट पनि परिवर्तन गर्नुपर्ने आशय देखिन्छ। 

तर यातायात व्यवस्था विभाग बागमतीका मोटरसाइकल दर्ता कार्यालयका प्रमुख गणेश अर्यालको व्याख्या भने फरक छ। उनका अनुसार सूचनामा पुराना नम्बर प्लेटको विषयमा केही उल्लेखख छैन। त्यसैले पुराना नम्बर प्लेटको हकमा केही गर्न आवश्यक छैन। 

तीन थरिका नम्बर प्लेट

नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा तीन थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन्। हाल केही चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण हाल रोकिएको छ। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell