PahiloPost

Apr 5, 2026 | २२ चैत्र २०८२

यौन दुर्व्यवहारको आरोप लागेका ४८ कर्मचारीलाई गुगलले हटायो



पहिलोपोस्ट

यौन दुर्व्यवहारको आरोप लागेका ४८ कर्मचारीलाई गुगलले हटायो

विश्वभर मि टु मुभमेन्टका कारण धेरै यौन दुर्व्यवहारका घटनाहरू सार्वजनिक हुँदैछन्। हलिउड र बलिउडमा त यस अभियानले तहल्का नै मच्चाएको छ। भारत र नेपालको राजनीतिक क्षेत्रमा समेत मि टु'ले प्रवेश पाएको छ। यौन उत्पीडनको आरोप लागेका भारतका विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा नै दिनुपरेको थियो। 

यसैक्रममा 'टेक्नोलोजी जायन्ट' मानिएको गुगलले विगत दुर्इ वर्षमा यौन दुर्व्यवहारको आरोप लागेका ४८ जना कर्मचारीलार्इ कामबाट निष्कासन गरेको जनाएको छ। कामबाट निकालिएका कर्मचारीमा १३ वरिष्ठ व्यवस्थापक र ३५ जना कर्मचारी रहेको बीबीसी जनाएको छ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले आफ्ना कर्मचारीको नाममा पत्र लेख्दै यौन दुर्व्यवहारविरुद्ध यस्तो निर्णय गरेको बताए।

न्यूयोर्क टाइम्समा एन्ड्रोइड सफ्टवेयरका निर्माता एन्डी रुवीनलार्इ जागिरबाट हटाउँदा ९ करोड डलर बराबरको प्याकेज दिएर बिदाई गरेको प्रतिवेदन सार्वजनिक गरेपछि पिचाइले उत्तरमा सो पत्र लेखेको जनाइएको छ। 

'प्लेग्राउन्ड'  नामक एक कम्पनी सञ्चालन गर्न रुवीनसँगै साम सिंगरले सन् २०१४ मै कम्पनी छाडेका थिए। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार त्यस बेला उनलाई 'हिरोलार्इ जस्तै भव्य बिदार्इ' दिइएको थियो।

सन् २०१३ मा एक होटेलको कोठामा महिला कर्मचारीसँग यौन दुर्व्यवहार गरेको आरोप लागेपछि रुवीनलार्इ राजीनामा दिन भनिएको टाइम्सले जनाएको छ।

तर, रुवीनका प्रवक्ताले भने आरोपलाई अस्वीकार गर्दै उनीले आफुखुसी काम छोडेको बताए। 

पिचाइले न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा आफूलार्इ धेरै गाह्रो भएको र आरोपबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन्। यस्तै उनले गुगलमा काम गर्ने आफ्ना कर्मचारीका लागि सुरक्षित र समावेशी कार्यक्षेत्र सुनिश्चित गर्न गुगल प्रतिबद्ध रहेको उल्लेख छन्।

पिचाइले यौन उत्पीडनको आरोपबारे अनुसन्धान गरेपछि नै कर्मचारीहरुलार्इ निष्कासन गरेको बताए।

यस्तै उनले दुर्इ वर्ष यता निकालिएको कर्मचारीहरुलार्इ बिदार्इ प्याकेज नदिइएको पनि स्पष्ट पारेका छन्। 

गुगलको यस कदमले मि टु मुभमेन्टलार्इ अझ सशक्त बनाउने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell