PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ने क पाको चियापानको यस्तो छ तयारी : वैद्यलाई निम्तो, विप्लवको ठेगाना पत्तो लागेन



विधुर ढकाल

ने क पाको चियापानको यस्तो छ तयारी : वैद्यलाई निम्तो, विप्लवको ठेगाना पत्तो लागेन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले शनिवार चियापान कार्यक्रम आयोजना गर्दै छ। पार्टी एकतापछि हुन लागेको यो पहिलो चियापान कार्यक्रम दशैं, तिहार, छठ, नेपाल सम्बत, इद, ल्होछारसहितका नेपालीका विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको हो।

भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा करिब ५० हजारको हाराहारीमा सहभागिता हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ५० हजार निम्तोपत्र बाँडिएको ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

को को हुँदै छन् सहभागी?

सत्तारुढ दलको चियापान कार्यक्रम भएकोले पनि कार्यक्रममा सहभागीको संख्या बढी हुने अनुमान गरिएको छ। प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आथित्यता ग्रहण गर्नका लागि सरकारका सबै मन्त्रीहरु, सरकारी उच्च पदस्थ अधिकारीहरुको सहभागिता हुने छ।

त्यस्तै चारै सुरक्षा अंगका प्रमुखहरुसहितका अधिकारीहरुसमेत सहभागी हुने छन्।

चियापान कार्यक्रममा नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरु, दुतावासका राजदुतहरु, प्रतितिनिधिहरुसहित २५० जना बढीलाई निमन्त्रणा पठाइएको छ।

त्यस्तै सबै सांसदहरु, सबै प्रदेश सरकारका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाईसमेत निम्तो दिइएको बताइएको छ। एकीकरण अगाडिका पूर्व एमाले र माओवादी केन्द्रका अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यसहित कार्यकर्ताहरुलाई समेत निम्तो दिइएको छ।

कार्यक्रममा सहभागिताका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वलाई निम्तो दिइएको छ।

ने क पाले चियापान कार्यक्रममा सहभागिताका लागि संसदबाहिर रहेका तथा निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेता तथा प्रमुखहरुलाई निम्तो पठाएको छ।

निर्वाचन आयोगमा दर्ता नभएका दलहरु पनि यसमा परेका छन्। यसरी निर्वाचन आयोगमा दर्ता नभएका दलहरु पनि यसमा अटाएका छन्।

कार्यक्रममा सहभागिताका लागि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’सहितका नेताहरुसमेत निम्त्याइएका छन्। त्यस्तै नेकपा मसाल, मजदुर किसान पार्टीसहितका दलका नेताहरुसमेत निम्त्याइएका छन्।

विप्लवको ठेगाना पत्तो लागेन

ने क पाले चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई समेत सहभागिताका लागि आह्वान गरेको छ। यद्यपी उनलाई निम्तोपत्रमा भने पठाइएको छैन।

ने क पाका नेता श्रेष्ठका अनुसार उनको निम्तोपत्र पठाउन ठेगाना पत्ता लागेन। ‘देशको ठूलो तथा सरकारको नेतृत्व गरेको पार्टीको चियापान कार्यक्रम भएकोले पनि यसमा सबैलाई सहभागिताका लागि आह्वान गरिएको छ,’ विप्लवको सहभागिताबारे पहिलोपोस्टको प्रश्नमा उनले भने, ‘कार्यक्रममा उहाँलाई हामीले निषेध गरेका छैनौँ। सबै दललाई निम्तो गरेका छौँ। निम्तो पठाउनका लागि उहाँको ठेगाना फेला परेन।’

दुई चरणको चियापान

कार्यक्रममा सहभागिताका लागि निम्त्याइएका मध्ये उनीहरुलाई दुई वटा समय दिइएको छ। चियापान कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने छ। चियापान कार्यक्रमको पहिलो खण्डमा सर्वसाधरण तथा कार्यकर्ताका लागि छुट्टाइएको छ।

३ बजेसम्म सर्वसाधरण, शुभेच्छुक तथा कार्यकर्ताहरुलाई चियापानको व्यवस्था गरिएको नेता श्रेष्ठले जानकारी दिए।

त्यसपछि चियापान कार्यक्रममा निम्त्याइएका अतिविशिष्ट तथा विशिष्ट पाहुनाहरु रहने छन्। यो समयमा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सरकारका मन्त्रीहरु, सांसदसहितका व्यक्तिहरु सहभागी हुने छन्।

अतिथि स्वागतका जिम्मेवारी नेपालदेखि श्रेष्ठसम्मलाई

ने क पाले चियापान कार्यक्रममा सहभागि हुने अतिथिहरुको स्वागतका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ। सचिवालय तथा केन्द्रीय सदस्यहरु सम्मिलित टोली बनाएर ने क पाले अतिथिहरुको स्वागत गर्ने छ।

कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधिहरुको स्वागतको जिम्मा नेता माधव नेपाल, प्रवक्ता नारयणकाजी श्रेष्ठसहित नेताहरु विष्णु रिमाल, महेन्द्र पाण्डे, राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ।

पूर्वसभामुख, सभामुख, संसदीय दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई स्वागत गर्नका लागि सोही अनुसार ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, ने क पाका राष्ट्रिय सभा दलका नेता दिननाथ शर्मा खिमलाल भट्टराई, परशुराम मेघी गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ।

नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूलाई पेशागत संगठनका नेताहरुले स्वागत गर्ने छन्। उनीहरुको स्वागतका लागि भोला पोखरेल, पुण्य ढकाललगायतलाई जिम्मेवारी दिइएको छ।

सुरक्षा व्यवस्था कडा

कार्यक्रममा आउने अतिथिहरुको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित ने क पाका स्वंसेवकहरुले सुरक्षा प्रदान गर्ने छन्। नेपाली सेनाका अधिकारीहरु पनि अति विशिष्ट तथा विशिष्ट अतिथिहरुको सुरक्षामा खटिने छन्।

ने क पाले कार्यक्रमका लागि भने ३०० बढी स्वयम्सेवकहरुको दस्ता परिचालन गर्ने तयारी गरेको छ। यसका लागि पूर्व युवा संघ र पूर्व वाइसिएलका कार्यकताहरु रहने छन्। ने क पाका नेता विनोद श्रेष्ठ, प्रल्हाद बुढाथोकीले स्वयंसेवकको व्यवस्थापनको जिम्मेवारी पाएका छन्।

स्वंमसेवकको विशिष्ट पाहुनालाई पार्टी अध्यक्ष, सचिवालयका नेता रहेको ठाउँमा पुर्‍याउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell