PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

पीपीएल : घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात



पहिलोपोस्ट

पीपीएल : घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात

घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ।

पर्यटकिय नगरी पोखरामा आजबाट सुरु भएको पीपीएलको उद्घाटन खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले हरायो।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो। पोखराका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे भने विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा नटआउट ४१ रन बनाए।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ५३ रनको साझेदारी गरेका थिए। कुशलले ३८ रन बनाए। दोस्रो विकेटका लागि आसिफले रविन्दर सिंहसँग ९७ रनको साजेदारी गरेका थिए। आसिफल पोखराका लागि सर्वाधिक ५२ रन बनाए। रविन्दर सिंहले ४४ रन जोडे।

१७औँ ओभरमा मात्र क्रिजमा पुगेका विनोद भण्डारीले ११ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४१ रन जोडेपछि पोखराले उच्च स्कोर बनाएको हो।

विराटनगरका लागि सन्दीप लामिछानेले २ तथा शहाब आलमले १ विकेट लिए।

पोखराले दिएको १९८ रनको लक्ष्य पछ्याएको विराटनगरले ८ विकेट गुमाएर १३९ रन मात्र बनायो।

विराटनगरले सुरुवात देखि नै विकेट गुमाउँदा पोखराले दिएको लक्ष्य भेटाउन कठिन बनेको थियो। विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०-३० रन बनाए। कप्तान सन्दीप लामिछानेले १४ रनमा नटआउट रहे।

पोखराका लागि ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ वकेट लिए। यस्तै मेहबुब आलम, कृष्ण कार्की, कप्तान शरद भेषावकर, विक्रम भुषाल र रासिद खानले समान १ विकेट लिए।

पीपीएलमा शनिवार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ। 

क्वीन्स इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell