PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

नेपाली वामपन्थी एकतालाई यचुरीको क्रान्तिकारी सलामी, भने : हामी भाइभाइ



विधुर ढकाल

नेपाली वामपन्थी एकतालाई यचुरीको क्रान्तिकारी सलामी, भने : हामी भाइभाइ

काठमाडौं: भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीले भारतमा मुख्य रुपमा दुई शक्तिबीच टकराब रहेको बताएका छन्।

'भारत धर्मनिरपेक्ष प्रजातान्त्रिक गणतन्त्र रहने की हिन्दु धार्मिक गणतन्त्र रहने भन्ने मुख्य सैद्धान्तिक टकराव रहेको छ,' पुष्पलाल श्रेष्ठ फाउण्डेसनले आयोजना गरेको भारतीय कम्युनिस्ट आन्दोलनको अनुभव विषयक कार्यक्रममा यचुरीले भने, 'जसले भारतलाई धार्मिक राज्य बनाउन चाहनेका लागि मुख्य चुनौती कम्युनिस्ट हुन्। उनीहरुको आक्रमणको प्रमुख तारो हामी भएका छौँ।'


उनले धार्मिक देश बनाउने चाहनामा भारत र पाकिस्तान विभाजन भएको बताए। 'हिजो स्वतन्त्रताको समयमा पनि धर्मनिरपेक्ष कि धार्मिक गणतन्त्र भन्ने टकराब थियो। कम्युनिस्ट र काँग्रेसबीच धर्म निरपेक्षको विषयमा एकमत थियो,' उनले अगाडि भने, 'आरएसएस हिन्दुराज्य बनाउन जन्मियो। अर्कोतिर मुस्लिम लिग जन्मियो। मुस्लिम लिगले पाकिस्तान मुस्लिम धार्मिक देश बनाउ सफल भयो। तर भारत हिन्दु राज्य बनाउन सकेनन्।' आरएसएस अझै पनि हिन्दु राज्य बनाउन लागि परेको आरोप लगाए।

अहिले कम्युनिस्टहरुले धर्मनिरपेक्षता बचाईराख्नु चुनौती रहेको यचुरीको भनाइ थियो। धर्म निरपेक्ष विना समाजवादी आन्दोलन अगाडि बढ्न नसक्ने उनले बताए। भारतमा कम्युनिस्ट माथि आक्रमण कम्युनिस्ट बाहुल क्षेत्रमा बढेको उनले बताए।

'ग्राम पञ्चायत चुनावमा त्रिपुरामा भाजपा ९९ प्रतिशत स्थानमा विजयी भयो। बंगालमा ३४ प्रतिशत विजयी भयो। उनले अगाडि भने, हामीलाई उम्मेदवार हुन दिइएन,' उनले भने, 'जो उम्मेदवार हुन चाहन्छ उसलाई धम्काइयो। नमाने घरमा श्रीमतीलाई सेतो साडी उपहार दिइयो। तेरो श्रीमानलाई रोक नत्र यो साडी लगाउनु पर्ला भनेर धम्काईयो। धम्कीबाट नडराउने एक कम्युनिस्ट श्रीमानश्रीमतीलाई घरमै ज्युदै जलाइयो।'

भारतमा कम्युनिस्ट बीच धेरै समस्या रहेको र समस्या भन्दा चुनौती बढी रहेको महासचिव यचुरीको भनाइ थियो। 'हामीले हाम्रो अनुभव बाट चेत खाएका छौँ। त्यसैले हामी एक हुने प्रयासमा छौँ। भरतीय कम्युनिस्ट पार्टी, भारीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) र भारतीय कम्युनिस्ट पार्टी (माले)बीच संयुक्त आन्दोलनको तयारी भइरहेको उनले बताए।

सन् २०१९ मा भारतमा हुने निर्वाचनमा भारतका तीन बामपंथी तीन नारा लिएर जाने यचुरीले बताए।

भाकपा, मार्क्सवादी र माले 'चुनावमा भाजपा पराजित गरौँ', 'संसदमा बामपंथीलाई बलियो बनाउ' र 'केन्द्रमा धर्म निरपेक्ष सरकार बनाउँ' भन्ने तीन नारा लिएर अगाडि बढ्ने उनले बताए।

भारतमा कम्यनिस्ट कमजोर हुनु वामपन्थीकै कमजोरी स्विकार गरे।

'कुनै समय भारतमा वामपन्थीको सहयोग विना सरकार बन्दैन थियो। २००४ मा ६१ सिट हासिल गरेका कम्युनिस्ट आज १२ मा सीमित छ। यसका तीन कारण छन्,' उनले भने, 'पहिलो राजनीतिक कम्युनिस्टलाई अगाडि बढ्न दिनु हुन्न भन्ने शक्ति एक भए। हामी जनतालाई यसबारे बुझाउन सकेनौं। दोस्रो प्रशासनिक कम्युनिस्ट सरकार भएका राज्यमा प्रसाशनिक कमजोरी भयो। जनतामा कार्यकर्ता भन्दा प्रशासक नजिक भए पार्टी कमजोर भयो। तेस्रो संगठनिक संरचना, हामीले संगठनलाई आम जनतामाझ लान सकेनौं।'

उनले यी कमजोरलाई सुधार गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए।

उनले कम्युनिस्टहरुमा भएको अन्तरविरोधको पहिचान मुख्य चुनौति भएको बताए। उनले नेपालका संसदीय चुनावबाट सबै तहमा कम्युनिस्ट सरकार बनेको र दुई ठूला कम्युनिस्ट पार्टी एक भएकोमा खुसी ब्यक्त गरे।

'यो उपलब्धिका लागि यहाँलाई बधाईमात्र होइन क्रान्तिकारी सलामी पनि छ,' उनले भने।

नेपाल र भारत भाइ भाइ भएकोसमेत बताए। 'हामी भाइभाइ हौँ। हामीबीच कोही ठूलो कोही सानो हामी जुम्ल्याहा हौँ। एउटालाई दुख्दा अर्कोले अनुभव हुन्छ,' उनले बताए।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का वरिस्ठ नेता माधव नेपालले नेपालको गणतन्त्र स्थापनाको आन्दोलनमा यचुरीले ठूलो भूमिका खेलेको बताए।

यचुरीले नेपालमा आन्दोलनका भइरहँदा नेपालमा लोकतन्त्र स्थापनाका लागि ऐक्यवद्धता समूह गठन गरी आन्दोलनमा सहयोग गरेका थिए।

त्यस्तै उनी आन्दोलन सफल भएपछि पुन: स्थापित संसदमा सम्वोधन गर्न नेपाल आएका थिए। उनी भारतीय कम्युनिस्ट पार्टीको महासचिवको रुपमा सन् २०१५ मा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell