PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

राष्ट्रपति सोमबार कतार जाँदै : पहिलो कार्यकालको निम्तो लत्याएर युएई पुगेको एक वर्षपछि हुँदैछ भ्रमण



विधुर ढकाल

राष्ट्रपति सोमबार कतार जाँदै : पहिलो कार्यकालको निम्तो लत्याएर युएई पुगेको एक वर्षपछि हुँदैछ भ्रमण
फाइल फोटो

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणको एक वर्षपछि राष्ट्रपति विद्या देवी भण्डारीले अर्को खाडी राष्ट्र कतारको भ्रमण गर्ने भएकी छन्। 
गत वर्ष कात्तिक २७ गते आफ्नो पहिलो कार्यकालको अन्तिम समयमा उनले युएईको भ्रमण गरेकी थिइन्। 

नेपालको निर्वाचनको संघार तथा अरब राष्ट्रहरुले कतार माथि लगाएको नाकाबन्दीको समयमा भएको भ्रमणको विषयलाई लिएर असन्तुष्टि देखिएको थियो। 

त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीलाई भ्रमणमा ननिस्कन सुझावसमेत दिएका थिए। 

अर्कोतर्फ सोही समयमा कतारले पनि भ्रमणको निम्तो दिएको थियो। तर कतारको भ्रमण लत्याउँदै राष्ट्रपति भण्डारीले युएईको भ्रमण गरेपछि कतारले कुटनीतिक रुपबाट असन्तुष्टिसमेत जनाएको थियो। 

खाडी मुलुकमा विवाद बढ्दै जानु र युएई, साउदी अरबसहितका अन्य खाडी राष्ट्रले कतार माथि नाकाबन्दी लगाएको समयमा भएको भ्रमणले नेपालको असंलग्न नीतिमाथि प्रश्न उठाएको भन्दै कुटनीतिज्ञहरुले आलोचनासमेत गरेका थिए। 

कतारले राष्ट्रपति भण्डारीलाई पहिलो कार्यकालमै निम्तो दिए पनि युएई भ्रमणको एक वर्षपछि आफ्नो दोस्रो कार्यकालमा बल्ल कतारको भ्रमण गर्न लागेकी हुन्। 

राष्ट्रपति भण्डारी कतारको चारदिने राजकीय भ्रमणका लागि सोमबार कतार जाने छिन्। गणतन्त्र स्थापनापछि कतारमा हुन लागेको यो दोस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि पहिलो पटक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत कतारको भ्रमण गरेका थिए। 

यस्तो छ भ्रमण तालिका

कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणमा राष्ट्रपति १२ कात्तिकमा कतार जाने छिन्। 

त्यहाँ रहँदा उनले अमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। १३ कात्तिकमा उनले आमिर अलथानीसँग भेटवार्ता गर्ने छिन्। 

राष्ट्रपति भण्डारीको सम्मानमा आमिर शेखले द्वीपक्षीय भेटवार्तापछि दिवाभोज आयोजना गर्ने छन्। 

त्यस्तै कतार बसाईका क्रममा राष्ट्रपति भण्डारीसँग कतार फाउण्डेशनकी अध्यक्ष तथा संस्थापक सेख मोजा विन्ट नासेरसहितका उच्च अधिकारीहरुले भेट गर्ने कार्यक्रमसमेत रहेको छ। 

राष्ट्रपति भण्डारीले त्यहाँ रहँदा त्यहाँका व्यवसायिक समुदायले आयोजना गर्ने ‘नेपालमा व्यवसाय तथा लगानीको अवसर’ विषयक संयुक्त अन्तर्क्रिया कार्यक्रमलाई मंगलबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

साथै भ्रमणको पहिलो दिन सोमबार उनले कतारस्थित नेपाली दुतावासको भ्रमण गर्ने छिन्। उनले दूतावासमा नेपाली समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ। 

उनको सम्मानमा कतारका लागि नेपाली राजदुत रमेशप्रसाद कोइरालाले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणको तयारीका लागि राजदूतहरु सक्रिय

यसैबीच भ्रमणको तयारीका लागि कतारका लागि नेपाली राजदूत कोइराला काठमाडौं आएर पुनः कतार फर्किएका छन्। उनले काठमाडौंमा आएर भ्रमणको तयारीको ब्रिफिङ गरेका थिए। 

यता राष्ट्रपति भण्डारीको भ्रमणको तयारीकै लागि नेपालका लागि कतारी राजदुत युसुफ विन मोहम्मद अल हेल दोहा गएका छन्। 
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसहितका उच्च अधिकारीहरु सहभागी हुने छन्। 

त्यस्तै भ्रमण दलमा उद्योगी तथा व्यवसायिक प्रतिनिधिहरुसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति भण्डारी चार दिने भ्रमण सकेर कात्तिक १५ गते स्वदेश फर्किने छिन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell