
श्रीलंकामा शुक्रबार नाटकीय राजनीतिक घटनाक्रम विकसित भएर सत्ता उलटपुलट भएको छ। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्री रणिल विक्रमसिंघेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमसिंघेले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै आफू नै प्रधानमन्त्री रहने दावी गरेका छन्।
तीन वर्षअघि भएको राष्ट्रपति निर्वाचनमा न्यु डेमोक्रेटिक फ्रन्टका उम्मेदवार सिरिसेनाले राजापाक्षेलाई पहिलो चरणमै हराएका थिए। आफैले हराएका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरेर राष्ट्रपति सिरिसेनाले सबैलाई अचम्ममा पारेका छन्।
टेलिभिजन च्यानलहरुमा राजापाक्षेले प्रधानमन्त्रीका रुपमा राष्ट्रपति सिरिसेनासित शपथ लिएको दृश्य प्रसारण समेत गरिएको छ।
Confirmed : Former President Mahinda Rajapaksa sworn in as Prime Minister of Sri Lanka - footage derana pic.twitter.com/yk3Ro1H5vk
— Azzam Ameen (@AzzamAmeen) October 26, 2018
सिरिसेना आवद्ध मोर्चा युनाइटेड पिपल्स फ्रिडम अलाइन्सले विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीसितको गठबन्धन सरकारलाई छाड्ने घोषणा गरे लगत्तै यो नाटकीय घटनाक्रम विकास भएको हो।
सन् २०१५ मा विक्रमसिंघेको समर्थनमा सिरिसेना राष्ट्रपति निर्वाचित भएपछि वर्तमान गठबन्धन सरकार बनेको थियो। यसले राजापाक्षेको झण्डै दशक लामो शासनको अन्त्य पनि गरेको थियो।
सिरिसेना राजापाक्षे राष्ट्रपति हुँदा स्वास्थ्य मन्त्री थिए। चुनाव अगाडि सिरिसेनाले राजापाक्षेसँगको नाता तोडेर विक्रमसिंघेसित गठबन्धन गरेका थिए।
राजापाक्षेको नयाँ पार्टीले श्रीलंकाको स्थानीय निर्वाचनमा नपत्याउँदो विजय हासिल गरेपछि वर्तमान गठबन्धन सरकार संकटमा पर्न थालेको थियो।विगत केही हप्तादेखि राष्ट्रपति र प्रधानमन्त्री बीच सरकार चलाउने विषयमा विवाद भइरहेको थियो।
श्रीलंकाको नयाँ घटनाक्रमले त्यहाँ संवैधानिक संकट उत्पन्न हुने देखिएको छ। सिरिसेना र राजापाक्षेको पार्टीको संसदमा संयुक्त रुपमा ९५ सिटमात्र छ भने विक्रमसिंघेको युएनपीको १०६ सिट छ जुन बहुमतभन्दा सात सिटले कम हो।