
काठमाडौं : आइसीसी वान डे वर्ल्ड कप ट्रफी शनिवार पोखरा रंगशालामा प्रदर्शन गरिएको छ। आइसीसी ट्रफी टुर अन्तर्गत शुक्रवार नेपाल आइपुगेको उक्त ट्रफीलाई शनिवार पोखरा लगिएको हो।
पहिलो दिन ट्रफीलाई विश्व सम्पदासूचीमा रहेको स्वयम्भूनाथमा सार्वजनिक गरिएको थियो। हाल पोखरामा पीपीएल टी-२० क्रिकेट चलिरहेकाले क्रिकेट खेलाडीहरु पोखरामा रहेका कारण ट्रफी पोखरा लगिएको हो।
नेपालका युवा स्टार सन्दीप लामिछानेले पोखरामा आइसीसी वर्ल्ड कप ट्रफीलाई प्रदर्शन गर्ने अवसर पाए। उनी उक्त ट्रफी प्रदर्शन गर्ने पहिलो नेपाली खेलाडीसमेत बने।
राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र सोमपालको टिम बुटवल ब्लास्टर्सको खेल चलिरहेको बेला सन्दीपले ट्रफी प्रदर्शन गरेका हुन्।
चार दिन नेपालमा रहने उक्त ट्रफी सोमवार काठमाडौँको चन्द्रागिरी लगिनेछ।
सन् २०१९ मा इंग्ल्याण्ड र वेल्समा हुने वान डे वर्ल्ड कप अघि एक सय दिने विश्व भ्रमणमा रहेको ट्रफी टुर युएईको दुबईबाट शुरु भएको थियो। त्यसपछि ट्रफी ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश हुँदै नेपाल आइपुगेको हो।
अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ। विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।