PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कञ्चन गाउँपालिकाले पायो इजलास कक्ष : डेढ वर्षमा ७५ मुद्दा, दुईको फैसला  



विधुर ढकाल

कञ्चन गाउँपालिकाले पायो इजलास कक्ष : डेढ वर्षमा ७५ मुद्दा, दुईको फैसला  

काठमाडौं: रुपन्देहीको कञ्चन गाउँपालिकाले शुक्रबारदेखि छुट्टै इजलाश कक्ष संचालनमा ल्याएको छ। निर्वाचनबाट जनप्रतिनिधि आएको झण्डै डेढ वर्षपछि गाउँपालिकाले छुट्टै इजलास कक्ष सञ्चालनमा ल्याएको हो। 

स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका मुद्दाहरुको फैसालालाई छरितो ढंगले सहज बनाउन छुट्टै इजलास कक्ष सञ्चालमा ल्याइएको गाउपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोमा तरामु मगरले जानकारी दिइन्। 

‘गाउँपालिकामा पूर्वाधारको अभाव, तथा आवश्यक कोठा नहुँदा छुट्टै इजलास सञ्चालन गर्न ढिलाइ भएको हो,’ पहिलो पोस्टसँग उनले भनिन्, ‘छुट्टै इजलास कक्ष सञ्चालमा ल्याएपछि अब हामीले समितिमा दर्ता भएका मुद्दालाई सात देखि १५ दिन भित्र टुंग्याउने छौँ।’ 

पूर्वाधार र छुट्टै इजलास कक्ष नहुँदा गाउँपालिकाको अधिकार क्षेत्रभित्र रहेका मुद्दाहरु टुंग्याउन समस्या परेको उनले बताइन्। ‘अहिले सम्म आफ्नै (उपाध्यक्ष) कार्यकक्षमा  इजसलाको काम गर्दै आएकी थिए,’ उनले भनिन्, ‘सानो कोठा त्यस माथि उपाध्यक्षको नियमति कामले पनि न्यायिक समितिको कामलाई प्रभावित पार्दै आएको थियो।’ 

न्यायिक समितिका संयोजक तरामु मगरले आफु र आफ्नो समितिले न्यायसँग सम्बन्धित कुनै पनि विषयमा कुनै कसुर बाँकी नराखी जनतालाई न्याय दिने विषयमा सजग रहेको बताइन्। 

उनका अनुसार गाउँपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्षमा ५२ वटा मुद्दा दर्ता भएका थिए। त्यसमध्ये समितिले दुई वटा मात्र मुद्दाको फैसाला गरी कार्यान्वयनमा लगेको छ। 
जसमध्ये एउटा जग्गा विवाद अर्को घरायसी(ट्वाइलेटको सेफ्टी टेंकी विवाद) रहेको जानकारी दिइन्। 

त्यस्तै समितिले आफ्नो अधिकार क्षेत्र भित्र नरहेको भन्दै केही मुद्दालाई दरपिठ गरेको र केही मुद्दा समितिले मेलमिलाप गराएको उनले जानकारी दिइन्।
 
त्यस्तै चालु आर्थिक वर्षमा यस समितिमा २३ वटा मुद्दा दर्ता भएका छन्। यी मुद्दामध्ये हाल सम्म कुनै पनि मुद्दाको फैसला हुन सकेको छैन। ‘हामीसँग पूर्वाधार अभाव थियो। हामीले चाहेर पनि गर्न सकेका थिएनौँ,’ उनले भनिन्।

केही मुद्दा दर्ता भए पनि उजुरवाला नै सम्पर्कमा नआएकाले फैसला गर्न नसकिएको उनले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell