PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

ने क पाको चियापान शुरु, कार्यकर्ताको भिड



विधुर ढकाल

ने क पाको चियापान शुरु, कार्यकर्ताको भिड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)को चियापान राजधानको भृकुटीमण्डपमा शुरु भएको छ। अहिले भृकुटीमण्डपमा कार्याकर्ताको लाम लागेको छ।

नेता तथा कार्यकर्तालाई नेकपाका नेता दीनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराईलगायतले स्वागत गरिरहेका छन्।

कार्यक्रममा सहभागिताका लागि निम्त्याइएका मध्ये उनीहरुलाई दुई वटा समय दिइएको छ। चियापान कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु भएको हो। चियापान कार्यक्रमको पहिलो खण्डमा सर्वसाधरण तथा कार्यकर्ताका लागि छुट्टाइएको छ।

३ बजेसम्म सर्वसाधरण, शुभेच्छुक तथा कार्यकर्ताहरुलाई चियापानको व्यवस्था गरिएको नेता श्रेष्ठले जानकारी दिए।

त्यसपछि चियापान कार्यक्रममा निम्त्याइएका अतिविशिष्ट तथा विशिष्ट पाहुनाहरु रहने छन्। यो समयमा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सरकारका मन्त्रीहरु, सांसदसहितका व्यक्तिहरु सहभागी हुने छन्।

पार्टी एकतापछि हुन लागेको यो पहिलो चियापान कार्यक्रम दशैं, तिहार, छठ, नेपाल सम्बत, इद, ल्होछारसहितका नेपालीका विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको हो।

भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा करिब ५० हजारको हाराहारीमा सहभागिता हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ५० हजार निम्तोपत्र बाँडिएको ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

सत्तारुढ दलको चियापान कार्यक्रम भएकोले पनि कार्यक्रममा सहभागीको संख्या बढी हुने अनुमान गरिएको छ। प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा ने क पाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आथित्यता ग्रहण गर्नका लागि सरकारका सबै मन्त्रीहरु, सरकारी उच्च पदस्थ अधिकारीहरुको सहभागिता हुने छ।

त्यस्तै चारै सुरक्षा अंगका प्रमुखहरुसहितका अधिकारीहरुसमेत सहभागी हुने छन्।

चियापान कार्यक्रममा नेपालस्थित विभिन्न देशका कुटनीतिक नियोग प्रमुखहरु, दुतावासका राजदुतहरु, प्रतितिनिधिहरुसहित २५० जना बढीलाई निमन्त्रणा पठाइएको छ।

त्यस्तै सबै सांसदहरु, सबै प्रदेश सरकारका मुख्यमन्त्रीसहित सबै मन्त्रीलाईसमेत निम्तो दिइएको बताइएको छ। एकीकरण अगाडिका पूर्व एमाले र माओवादी केन्द्रका अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यसहित कार्यकर्ताहरुलाई समेत निम्तो दिइएको छ।

कार्यक्रममा सहभागिताका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वलाई निम्तो दिइएको छ।

ने क पाले चियापान कार्यक्रममा सहभागिताका लागि संसदबाहिर रहेका तथा निर्वाचन आयोगमा दर्ता भएका सबै दलका नेता तथा प्रमुखहरुलाई निम्तो पठाएको छ।

निर्वाचन आयोगमा दर्ता नभएका दलहरु पनि यसमा परेका छन्। यसरी निर्वाचन आयोगमा दर्ता नभएका दलहरु पनि यसमा अटाएका छन्।

कार्यक्रममा सहभागिताका लागि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’सहितका नेताहरुसमेत निम्त्याइएका छन्। त्यस्तै नेकपा मसाल, मजदुर किसान पार्टीसहितका दलका नेताहरुसमेत निम्त्याइएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell