PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कर्णालीको राजधानीमै फोर लेन सडकको हरिविजोक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे!



पी बी खड्का

कर्णालीको राजधानीमै फोर लेन सडकको हरिविजोक : घाम लागे धुलाम्मे, पानी परे हिलाम्मे!

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माणाधीन फोर लेन सडकको निर्माण कार्य ढिलाइले हरिविजोक भएको छ। सडक निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारणले सास्ती खेपिरहेका छन्।

धुलो, धुँवा र सडकको बीचमा भएको निर्माण सामग्रीले सर्वसाधारण यात्रुलाई आवतजावत गर्न सास्ती भएको हो। मान्छेको चहलपल बढ्ने राजधानी सुर्खेतको निर्माणाधीन फोर लेनको कतै पुल नबन्दा त कतै फोर लेन सडकमै निर्माण सामाग्री राखिएकाले सर्वसाधारण सास्ती खेप्न बाध्य भएका हुन्। करिब ६ किलोमिटर फोर लेन सडक तीन वर्षअघि निर्माण कार्य सुरु गरिएको थियो। तीन प्याकेजमा निर्माण थालेको फोर लेन सडकको दुई वटा प्याकेज भने अलपत्र परेका छ भने पहिलो प्याकेजको काम भने सकिएको छ।
 
अधिकांश फोर लेन सडकको काम द्रुत गतिमा अघि बढे पनि बीच बीचमा निर्माण कार्य रोकिँदा सर्वसाधारणलाई सास्ती छ। 
निर्माण व्यवसायीले पर्याप्त निर्माण सामाग्री नपाएकाले कामले गति लिन नसकेको बताएका छन् भने यता वीरेन्द्र नगरपालिकाले भने निर्माण सामाग्री (बालुवा, गिट्टी) उत्खननको प्रक्रियामा जाँदा ढिलाई भएको बताएको छ।
 
फोर लेन सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले निर्माण सामाग्री पाउनै मुश्किल भएको बताए। सरकारले नदीजन्य पदार्थ उत्खननमा कडाई गरेसंँगै निर्माण सामाग्री पर्याप्त पाउन समस्या भएको छ।
 
फोर लेन सडकमा पर्ने करिब ४० करोड लागतको पाँच वटा पुल निर्माण हुन सकेका छैन। सोही निर्माण जिम्मा पाएको स्वच्छन्द श्याम एण्ड शंकर तथा आशिष श्याम एण्ड शंकर निर्माण कम्पनीका सञ्चालक पदम खड्काले बालुवा, गिट्टीको कामले सुस्ताएको बताए।

‘निर्माण कार्यका लागि जम्मा तीन वर्षको समयावधि पाउँछौँ,’ उनले भने, ‘बालुवा गिट्टी तीन महिनासम्म बन्द हुन्छ। विभिन्न समस्याले काममा बाधा पुग्छ अनि कसरी काम तीव्र चल्छ?’
 
प्रोपाइटर खड्काले अब सरकारले बाह्रै महिना निर्माण सामाग्री उपलब्ध गराउनुपर्ने माग गरेका छन्। सरकारले तोके बमोजिम आफूहरु कर तिर्न मञ्जुर भएको बताउँदै निर्माण कम्पनीलाई सरकारले कच्चा पदार्थ ल्याउन रोक्न नहुनेमा जोड दिए।
 
उक्त निर्माण कम्पनीले असार मसान्तसम्म मुलपानीदेखि बाङ्गे सिमलसम्मको फोर लेन सडक कालोपत्रे गरेर सक्नुपर्ने थियो। तर, अहिलेसम्म कामले गति लिन सकेको छैन। निर्माण सामाग्रीकै अभावले ३२ सय मिटर सडक कालोपत्रे गर्न नसकिएको खड्का बताउँछन्।  
खड्काका अनुसार सडकको ढल निकास र नाला व्यवस्थापनमा समेत स्थानीयको अवरोधले ढिलाई भएको उनी बताउँछन्।

‘सडकको नाला खन्न स्थानीयले आनाकानी गरेर अवरोध गर्छन्। बजारको ढल निकासको समस्या छ,’ उनले भने।

यता, नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आफुहरु जति सक्यो छिटो फोर लेन सडकको काम सक्नतर्फ लागेको बताउँछन्। नगरभित्र रहेको मुख्य बजार क्षेत्रको ढल निकासको विषयमा छलफल भइरहेको र अब छिट्टै टुंगो लाग्ने बताए।

‘नगरको ढल निकासको विषयमा छलफल भइरहेको छ सम्भवत अव केही दिनभित्रै टुंगो लाग्छ,’ उनले भने, ‘नगरले अमानतमै भए पनि कर लिने तरिकाले खोलामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय बमोजिम काम भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell