
काठमाडौँ : भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ। सबैले एक-एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
तोमरले ४४ बल खेल्दै ४ चौका र १० छक्का प्रहार गर्दै ९५ रन बनाए। उनलाई अन्तिम ओभरमा धनगढीका दीपेन्द्र सिंह ऐरीले बउट गरेका थिए। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए।
नरेशले २४ बल खेल्दै समान २ छक्का र चौका प्रहार गर्दै नटआउट २८ रन जोडे। जयकिशन कोल्सावालाले २५ रन जोडे।
धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १ विकेट लिए।
धनगढीका लागि कप्तान दीपेन्द्रले अर्धशतकिय पारी खेलेपनि जिता दिलाउन सकेनन्। धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो। दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए। सन्दीप जोरनले २७ रन जोडे।
बलिङमा काठमाडौँका अमर सिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले २-२ विकेट लिए।