PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सर्वसाधारणलाई केरा र लड्डु, विशिष्टलाई स्याण्डविच र पेंडा, हेर्नुस् नेकपाको चियापानका ८ रोचक दृश्य

सर्वसाधारणलाई केरा र लड्डु, विशिष्टलाई स्याण्डविच र पेंडा, हेर्नुस् नेकपाको चियापानका ८ रोचक दृश्य

विधुर ढकाल/पहिलोपोस्ट


काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दशैँ, तिहार, छठ, नेपाल सम्वत, इदको अवसरमा आयोजित चियापानका मुख्य आकर्षकका रुपमा हेरिएका प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी नहुँदा खल्लो भयो। बिहानैदेखि चियापान कार्यक्रमस्थल भृकुटीमण्डपमा प्रवेशका लागि हजारौँ लामबद्ध भए।

चियापान कार्यक्रमस्थल प्रवेश गर्नेहरुको लाइन पद्मोदयमोड कटेको थियो। कार्यक्रममा प्रधानमन्त्री आउने भन्दै अन्तिम समयसम्म भनिए पनि अन्त्यमा महासचिव विष्णु पौडेलले प्रधानमन्त्री नआउने जानकारी सञ्चारकर्मीलाई दिए।

छातीमा संक्रमण देखिएको भन्दै उनी कार्यक्रममा नआउने महासचिव पौडेलले जानकारी दिए। उनले यस्तो बताउँदै गर्दा उनले भने, ‘भौतिक रुपमा उहाँ यहाँ आउन नसके पनि भावनात्मक रुपमा यही हुनुहुन्छ।'

देउवालाई तीन पूर्वप्रधानमन्त्रीको स्वागत: राष्ट्रिय एकता सत्तापक्षकै हातमा

चियापान कार्यक्रममा प्रधानमन्त्री नआए पनि पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति भने बाक्लै भयोयो। पूर्व प्रधानमन्त्रीहरु ने क पाका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालले आगन्तुकहरुको स्वागत गर्दै शुभकामना आदानप्रदान गरे।

चियापानमा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई तीन प्रधानमन्त्रीले स्वागत गरे। तीन प्रधानमन्त्रीको बीचमा बसेर देउवाले चिया पिए। कानेखुसी गरे। विशिष्ठ पाहुनाका लागि बनाइएको मञ्चमा देउवा उपस्थित हुँदा केही कुटनीतिक नियोगका प्रमुखहरु आए। उनले पनि कुटनीतिक नियोगका प्रतिनिधिसँग शुभकामना साटासाट गरे।

चिया खाइसकेपछि निस्किन थालेका देउवा पत्रकारहरुको घेरामा परे। उनलाई पत्रकारहरुले प्रश्न गरे, ‘तपाईँको उपस्थिति राष्ट्रिय एकताको सन्देश हो?’

जवाफमा देउवाले छोटो उत्तर दिए, ‘राष्ट्रिय एकता देशको आवश्यकता हो, यो सबै सत्तापक्षको हातमा छ।’

आकर्षण भाकपा महासचिव सीताराम यचुरी


विशिष्ट पाहुनाहरुको रिसेप्सनका लागि बनाइएको मञ्चमा ने क पाका अध्यक्ष प्रचण्डसहित नेताहरु नेपाल, खनाल, सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादलले आगन्तुकहरुसँग शुभकामना साटासाट गरिरहेका थिए।

यही मञ्चमा प्रचण्ड र नेपालको बीचमा थिए एउटा दुई जना सेतै कपाल फुलेका व्यक्तिहरु, ने क पाकै नेताहरुले जस्तै आगन्तुकसँग शुभकामना साटासाट गरिरहेका। उनीहरु ने क पाका नेता भने थिएनन्। उनी ने क पाको आमन्त्रणमा नेपाल आएका भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) महासचिव सीताराम यचुरी र केन्द्रीय सदस्य योगेन्द्र शर्मा।

उनीहरु कार्यक्रमको लगभग अन्तिम सम्म नै मञ्चमा बसे। आगन्तुक विशिष्ठ व्यक्तित्वसँग परिचय गरे। शुभकामना साटासाट गरे। कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग भलाकुसारीसमेत गरे।

भित्र शुभकामना साटासाट, बाहिर रमझम


विशिष्ट व्यक्तिहरुका लागि शुभकामना साटासाट गर्नका लागि छुट्टै स्थान बनाइएको थियो। डोरीले बारेर बनाइएको विशिष्ट क्षेत्रमा सर्वसाधरणलाई प्रवेश गर्न दिइएको थिएन।

सो क्षेत्रमा कुटनीतिक नियोगका प्रतिनिधिहरु, मन्त्रीहरु, पूर्वमन्त्री, सांसद तथा विशिष्ठ व्यक्तिहरुलाई मात्र प्रवेश दिएको थियो। भित्र शुभकामना आदान–प्रदान चलिरहँदा बाहिर भने सांगीतिक रमझम थियो।

बाहिर सानो स्टेजमा ने क पा सम्बद्ध विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रचण्ड–कटुवाल कानेखुसी


गणतन्त्र नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बनेका अध्यक्ष प्रचण्ड त्यतिवेला माओवादी अध्यक्ष थिए। तत्कालिन नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका उनले नौ महिनामै सिंहदरबार छाड्नुर्‍¥यो। कारण थिए, पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल। कटवाललाई कारवाही गरी कुलबहादुर थापालाई प्रधानसेनापति बनाउन चाहन्थे प्रचण्ड तर सफल हुन सकेनन्। सरकार नै छाड्नु पर्‍यो।

आजको चियापान कार्यक्रमको अर्को रोचक दृश्य थियो यी दुई पात्रहरुको कानेखुसी र ‘हेण्ड सेक’। चियापान कार्यक्रममा प्रवेश गरेका कटुवालसँग सुरुमा नेम्वाङले कुरा गरे। अगाडि बढ्दै जादाँ नेता खनालले हात मिलाए। पालो आयो प्रचण्डको। केहीसमय हात मिलाए। अनी कानेखुसी गरे। कानेखुसीमा शुभकामना तथा पक्कै थियो। त्यसबाहेक के भयो? उनीहरुलाई नै थाहा होला। तर दृश्य हेर्न लायक नै थियो।

ने क पा असन्तुस्ट समूहको नाममा बहिस्कारको पर्चा, पर्चा छर्ने कुटिए


भृकुटी मण्डपभित्र चियापान चलिरहेको थियो। एक युवा पर्चाको बण्डल बोकेर भित्र प्रवेश गरे र पर्चा वितरण गर्न थाले। पर्चा थियो ने क पा असन्तुस्ट समूहको नाममा। पर्चामा महंगो र खर्चिलो चियापान कार्यक्रम बहिस्कारको आह्वान गरिएको थियो।

उनले पर्चा वितरण गर्दै गर्दा ने क पाका कार्यकर्ता आए। पर्चा नियन्त्रणमा लिए। पर्चा छर्नेलाई दुई चार झापड लगाए। अनी बाहिर पठाए।

अन्तिम समयसम्म प्रधानमन्त्री आउने आश

प्रधानमन्त्री केपी ओली कार्यक्रममा उपस्थित नहुने जानकारी सर्वसाधरणलाई जानकारी गराइएको थिएन। कार्यक्रममा स्थलमा चलिरहेको सांगीतिक कार्यक्रम चलाइरहेका राजा राजेन्द्रले अन्तिम समयसम्म प्रधानमन्त्री आउँदै हुनुहुन्छ भन्दै माइकबाट भनिरहेका थिए।

यही भ्रम थिए सर्वसाधरण, ‘प्रधानमन्त्री आउँदै छन्।’ तर, प्रधानमन्त्री भने बालुवाटारमै आराम गरिरहेका थिए।

प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने विहानैदेखि निश्चित जस्तै थियो। उनी निकट तथा ने क पाका शीर्ष नेताहरुलाई यसबारेमा जानकारी थियो। उनी विरामी थिए। तर पनि अन्तिम समय सम्म जानकारी दिइएन।

अन्तिम समयमा आएर महासचिव पौडेलले प्रधानमन्त्री नआउने जानकारी दिए। त्यतिवेला सम्म प्रधानमन्त्रीको पर्खाइमै थिए पत्रकारहरु पनि। कार्यक्रम स्थलबाट कांग्रेस सभापति देउवा बाहिरिएसँगै प्रचण्ड पनि बाहिरिए। पत्रकारहरु पनि निस्किए। तर कार्यकर्ताहरु कार्यक्रम स्थलमा ‘प्रधानमन्त्री आउँदै छन् रे’ भन्दै प्रवेश गर्दै थिए।

चियापानको मेनुः सर्वसाधारणलाई केरा, विशिष्टलाई स्याण्डविच

चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्क्वेट तयार पारेको थियो। सर्वसाधरणको नास्ताको मेन्यूमा केरा, लड्डु, खस्ता कचौरी, नमकिन र चिया थियो।


तर विशिष्टका लागि चियापानमा, कालो, सेतो चिया मात्र नभई कफी पनि थियो। उनीहरुलाई केरा र लड्डु नभइ स्याण्डविच र पेडा तयार पारिएको थियो।

गेटैदेखि नेताको नमस्कार कार्यकर्तालाई

कार्यक्रमको प्रवेशद्वारमै नेताहरु लामवद्ध थिए। कार्यक्रम स्थलमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुको स्वागत गर्दै शुभकामना दिँदै हात मिलाइरहेका थिए।

यो लाइनमा मन्त्री देखि सांसद र नेताहरुसमेत थिए।

देश नयाँ राजनीतिक कालखण्डमा प्रवेश गर्‍यो : प्रचण्ड


यसैबीच ने क पाका अध्यक्ष प्रचण्डले उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए।  मुलुक नयाँ युगतिर जाने भनेर संविधानमा नै उल्लेख गरिएको स्मरण गर्दै उनले सम्वृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell