
काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद (राखेप) खेलकुद विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा १० दिने विशेष युवा खेलाडी प्रशिक्षण कार्यक्रम शनिवार काठमाडौँमा सुरु भएको छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युथ खेलाडीहरुको क्षमतामा अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिधा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरुलाई बिशेष प्रशिक्षण प्रदान गर्न लागिएको हो।
प्रशिक्षण कार्यक्रम कार्तिक १० देखि १९ गतेसम्म तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा, कराते सातदोवाटो कराते प्रशिक्षण केन्द्रमा तथा एथलेटिक्स मुलपानीस्थित क्रिकेट मैदानमा हुने कार्यक्रम रहेको छ।
राखेपका सदस्य सचिव केशव कुमार बिष्टले शनिवार राखेप कभर्डहलमा उक्त कार्यक्रमको उद्घाटन गरे। बिष्टले स्कुलदेखि राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकुदसम्म खेलाडीहरुले नतिजामूलक उपलब्धि हासिल गरुन् भनि यस कार्यक्रमको सुरुवात गरिएको बताए। उनले उपलब्धिमूलक नतिजाका लागि खेलाडीहरुलाई सबै खाले सहयोग गर्न राखेप सदा तत्पर रहेको बताए।
सदस्य सचिव बिष्टले अबका दिनमा प्रशिक्षकहरुको मुल्याङ्कन पनि नतिजाको आधारमा गरिने बताए। यसका साथै यस कार्यक्रममा उत्कृष्ट हुने चारै विधाका एक महिला र एक पुरुष खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गरिने समेत कार्यक्रममा घोषणा गरे।