PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कसले छर्‍यो असन्तुष्ट समूहको नाममा नेकपाको चियापानमा पर्चा ? यस्ता छन् उनीहरुका ५ बूँदे माग



विधुर ढकाल

कसले छर्‍यो असन्तुष्ट समूहको नाममा नेकपाको चियापानमा पर्चा ?  यस्ता छन् उनीहरुका ५ बूँदे माग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को तर्फले आयोजना गरेको चियापान कार्यक्रममा चियाखाजा खान र शुभकामना आदान–प्रदान गर्नेहरुको भीडमा एउटा सानो समूह मिसियो। शुभकामना सन्देश नभई बहिस्कारको सन्देश लिएर। 

पर्चाको बण्डल बोकेर भित्र प्रवेश गरेको सानो समूहले उपस्थित कार्यकर्तालाई चियापान कार्यक्रम बहिस्कार गर्ने सन्देशसहितको पर्चा बाँडिरहेको थियो। सोही समूहका एक जना युवा स्वयंसेवकको घेरामा परे। पर्चा नियन्त्रणमा लिए। पर्चा छर्नेलाई दुई चार झापड लगाए। अनि बाहिर पठाए।  

पर्चा छर्ने को थिए?

पर्चा छर्ने समूहले आफूलाई नेपाल कम्युनिस्ट पार्टी असन्तुष्ट समूह जनाएको छ। पर्चाको अन्तिममा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) असन्तुष्ट समूह केन्द्रीय प्रचार प्रचार समिति भनिएको छ। 

पर्चामा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता ५०/५० को अनुपातमा हुने अपेक्षा गरिए पनि त्यस्तो हुन नसकेको र आत्मसमर्पण देखिएको बताइएको छ। 

‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इमान्दार नेता कार्यकर्ताहरुले दुई पार्टीबीच विचार, संगठन, नीति कार्यक्रम र कार्यदिशामा समेत ५०–५० को आधारमा एकता चाहेका थिए,’ पर्चामा भनिएको छ, ‘तर दुई पार्टीबीच भएको एकीकरण हेर्दा यो एकीकरण नभएर केवल आत्मसमर्पण मात्र हो कि भन्ने कुरा देखिएको छ।’

सबै कार्यकर्ताले दीपावली मनाउन चाहेका भए पनि त्यस्तो हुन नसकेको समेत पर्चामा बताइएको छ। यस्तो समयमा लाखौँ खर्च गरेर गरिने (चियापान) कार्यको औचित्यसमेत नरहेको जनाइएको छ। 

‘वर्तमान सरकारले बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न नचाहेको; भ्रष्ट, दलाल, माफियासँग साँठगाँठ गरेको, नेपालको राष्ट्रियता, सुन तस्करीका मुख्य योजनाकारलाई कारवाही गर्न नसकेको आदि कारणले यो सरकार जनताको नजरमा गिरिसकेको छ,’ पर्चामा आरोप लगाइएको छ, ‘यो समयमा लाखौँ खर्च गरेर गरिने अर्थ र औचित्यहीन चियापान समारोहको आवश्यकता नरहेको एवम् यस कार्यक्रमले आम नेपाली नागरिकको जीवनमा सकारात्मक प्रभाव नपार्ने कुरा सहमत हुँदै हाम्रो सामू यो कार्यक्रमको पूर्ण रुपमा बहिस्कारको घोषणाका साथमा प्रतिवादमा उत्रिन अपिल गर्दछ।’

के-के छन् मागहरु?

पर्चामा सो समूहले पाँच वटा मागहरुसमेत राखेको छ। 

१) नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको भनिएको एकतामा धेरै कमिकमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यवहारिक र सांगठनिक रुपमा ५०–५०को समानताको सिद्धान्तमा एकता गरियोस्।

२) नेकपाभन्दा बाहिर रहेका अन्य कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छे नेतृत्वको नेमकिपा, सीपी मैनाली नेतृत्वको नेकपा माले, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई पनि एकतामा ल्याइयोस्। 

३) वर्तमान सरकारले जनताको अपेक्षा अनुसार कार्य नगरेको हुँदा सरकारको काम कारवाही बारेमा अनुगमन गर्न एवं निर्देशन दिन सरकार एवं संसदमा प्रतिनिधित्व नगर्ने नेताको नेतृत्वमा उच्चस्तरीय सरकार सञ्चालन कार्यदल निर्माण गरियोस्। 

४) तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा बनेको ४४१ सदस्यीय केन्द्रीय कार्यसमिति हचुवा,  नातावाद  एवं कृपावाद र गुटबन्दीको आधारमा गरिएको हुँदा सो समिति तत्काल विघटन गरी सबै तहका नेता कार्यकर्तालाई सम्मानजनक जिम्मेवारी दिँदै नयाँ केन्द्रीय समिति निर्माण गरियोस्। 

५) नेपाली नागरिकका जनजीविकाको सवालमा तत्काल कदम चालियोस र सुशासनको स्थापना गरियोस्। 

 

के हो ने क पा असन्तुष्ट समूह?

ने क पा असन्तुष्ट समूहको नेतृत्व हाल तत्कालीन नेकपा माओवादी केन्द्रबाट आएका नेता युवराज सफलले गरिरहेका छन्। तत्कालीन मोहन वैद्य नेतृत्वको पार्टीमा तल्लो तहबाट निस्किएर छुट्टै समूह बनाएका उनी माओवादी केन्द्रमा प्रवेश गर्दा केन्द्रीय तहमा पुगे। 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको साता दिन नबित्दै उनले असन्तुष्ट समूहको घोषणा गर्दै महाधिवेशनसम्म समानान्तर कार्यक्रम चलाउने घोषणा गरेका थिए। 

यो समूह १ मंसिरमा माओवादीमा समाहित भएको थियो। नेकपा गठन भएको तीन दिनपछि विज्ञप्ति जारी गर्दै सफलले नेकपाको आगामी महाधिवेशनसम्म सामानान्तर गतिविधि गर्ने घोषणा गरेका थिए। 

‘नयाँ केन्द्रीय समितिको निर्माण गर्दा पनि हाम्रो समूहलाई सम्मानजनक स्थान दिने सम्बन्धमा भने कुनै प्रतिकृया नआएकाले नेकपा नेपालवादी समूहलाई समानान्तर केन्द्रीय समितिको रुपमा घोषणा गर्न बाध्य भएका छौं,’ त्यतिबेला जारी गरिएको वक्तव्यमा भनिएको थियो। 

त्यतिबेला यो समूहले नेपाल कम्युनिस्ट पार्टीमा मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, नारायणमान विजुक्छे ‘रोहित’, चित्रबहादुर केसी, सीपी मैनाली, ऋषि कट्टेललगायतले नेतृत्व गरेको अन्य पार्टी वा समूहलाई पनि एकता प्रक्रियामा ल्याउन नेकपाको नेतृत्वलाई सुझाव दिएको थियो। 

यही समूहले नै चियापान कार्यक्रममा पर्चा छरेको हो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell